
किरण कर्ण, जनकपुरधाम २ असोज । नेकपा क्रान्तिकारी माओवादी धनुषाले पनि असोज ३ गतेलाई कालो दिवस मनाउने निर्णय गरेको छ ।
सरकारले नयाँ संविधान जारी भएको असोज ३ गतेको दिनलाई संविधान दिवस मनाउने छन् भने अर्को तर्फ नेकपा क्रान्तिकारी माओवादी जिल्ला संगठन समिति धनुषाले यस दिनलाई कालो दिवसको रुपमा मनाउनका लागि नेकपा क्रान्तिकारी माओवादी धनुषाका ईन्चार्ज रोशन जनकपुरीले जनतासमक्ष आग्रह समेत गरेका छन् ।
जनइच्छालाई उपेक्षा गरेर, जनताको विरोधपूर्ण आन्दोलनहरुलाई दमन गरेर, दर्जनौँको ज्यान लिएर र सयौँलाई घाईते बनाएर राज्यले सम्विधान घोषणा गरेको एक वर्ष पुगेको भन्दै नेकपा क्रान्तिकारी माओवादी धनुषाका ईन्चार्ज रोशन जनकपुरीले एक विज्ञप्ति जारी गर्दै असोज ३ गते कालो दिवस मनाउने निर्णय गरेका छन् ।
जनताको संघर्षको वास्तविक प्रतिनिधी र विकल्पको रुपमा प्रस्तुत हुदैँ वर्तमान संविधानको खारेजी र जनचाहना अनुसार संघीय जनगणतन्त्रको संविधान निर्माणको संघर्षमा उत्रन सम्पूर्ण जनसमुदायलाई प्रेस विज्ञप्ति मार्फत ईन्चार्ज जनकपुरीले आग्रह गरेका छन् ।



