nepal_india_sammit
हुलाकी न्यूज, काठमाडौं १ असोज ।
मधेशी पत्रकार संघ र मिडिया फोर बोर्डर हारमोनीले संयुक्त रुपमा आयोजना गरेको ‘नेपाल–भारत समिट २०१६’ सम्पन्न भएको छ । नेपाल र भारतका सांसदहरुबीच अन्तरक्रिया तथा सीमा क्षेत्रको समस्यामाथि छलफल गर्न आयोजित नेपाल भारत समिट २०१६ शनिबार काठमाडौंमा सम्पन्न भएको छ ।

काठमाडौंको होटेल एलो पगोडामा आयोजित कार्यक्रमको उद्घाटन पूर्वप्रधानमन्त्री माधव नेपालले गरेका थिए भने कार्यक्रमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, व्यवस्थापितका सांसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति एवं माओवादी केन्द्रका नेता प्रभु साह, सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मण लाल कर्णसहितका नेताहरु नेपालको तर्फबाट सहभागी भएका थिए ।

त्यस्तै भारतका तर्फबाट सांसद अजय निषाध, सांसद जनक राम र विहारका पूर्व मन्त्रीसहित आधा दर्जन नेता तथा सांसदहरुको सहभागिता रहेका थिए । कार्यक्रममा नेपालका लागि कार्यबाहक राजदुत विनय कुमार र बीरगञ्ज महाबाणिज्य दुतावासकी महावाणिज्य दुत अन्जु रंजन पनि सहभागी थिइन् ।

उद्घाटन सत्रमा विभिन्न क्षेत्रका करिब डेढ सयको संख्यामा विशिष्ट व्यक्तिहरुको सहभागीता रहेको थियो । उद्घाटन सत्रमा स्वागत मधेशी पत्रकार संघका अध्यक्ष पंकज दास र मिडिया फोर बोर्डर हारमोनीका संरक्षक प्रदिप यादवले गरेका थिए ।

मिडिया फोरम बोर्डर हारमोनी भारतका अध्यक्ष अमरेन्द्र तिवारीले कार्यक्रमका विषयमा जानकारी गराएका थिए । त्यस्तै कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपाल, नेता साह, नेता कर्ण र भारतीय नेता तथा सांसदहरुले मनत्वय राखेका थिए ।

उद्घाटन सत्र पछि सांसदहरुबीचको अन्तरक्रियामा नेपालका करिब एक दर्जन सांसदहरु सहभागी भएका थिए । उक्त अन्तरक्रियाबाट दुबै देशका सांसदहरुले सिमाक्षेत्रमा उत्पन्न हुने समस्या समाधानका लागि संयुक्त मञ्च निर्माण गर्न सहमत भए । छलफलमा अधिकांश मधेशका समस्यामाथि विचारविमर्श भएको छ ।

कार्यक्रमको संचालन मधेशी पत्रकार संघकी केन्द्रीय सदस्य द्वय कञ्चना झा र स्नेहा झाले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.