basista_rijal
हुलाकी न्यूज, काठमाडौं ३१ भदौ ।
त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगंज चिकित्सा क्याम्पसको माईक्रोबायोलजी विभागका प्रमुख एवं प्राध्यापक डा.वशिष्ट प्रसाद रिजाल चार महिनादेखि सम्पर्क विहिन छन् ।

डा.रिजालको परिवारका सदस्यहरु क्यानडामा बस्दै आएका छन् । उनीसँग क्यानडाको पीआर रहेकोले उनी प्रत्येक वर्ष केही महिनाका लागि क्यानडा जाने गरेका हुन् । नियमानुसार तोकिएको अवधीसम्म क्यानडा नबसे पीआर रद्ध गरिन्छ । सोहीअनुसार क्याम्पसबाट जेठ महिनामा विदा लिएर सम्पर्क विहिन बनेका डा.रिजाल अहिलेसम्म कार्यालय फर्केका छैनन् ।

उनले स्वीकृत पाएको विदा अवधि सकेपछि क्याम्पसलाई अरुमार्फत साउन २३ गते अर्को निवेदन लेखी भनेका छन्,‘मैले २०६३ जेष्ट महिनामा नियमानुसार पाइने विदालगायत घर विदा लिएर घरमा बसीरहेकोमा हाल मलाई पेटमा सञ्चो नभएको कारणले उपचारको क्रम जारी छ । तसर्थ म उपचार पछि निको हुनासाथ तुरुन्तै आफ्नो काम चालु गर्ने व्यहोरा जानकारी गराउँदछु ।’ कहिले फर्किने भन्ने जानकारी पनि उक्त निवेदनमा उल्लेख गरिएको छैन ।

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा.दिपक महराका अनुसार उनी डेढ महिनाको विदा लिएर क्यानडा गएका हुन् । तर अहिलेसम्म डा.रिजाल क्याम्पस नफर्केको र आफु घरमै बसेको निवेदनमार्फत जनाएका छन् । डा.महराले डा.रिजाल क्यानडा जानेआउने गरेको बताउँदै उनी अहिले आफुहरुको सम्पर्कमा नरहेको बताए ।

यता क्याम्पस प्रमुख जीवनकुमार श्रेष्ठले डा.रिजाल बारे आफुलाई जानकारी नै नरहेको बताए । उनले भने,‘डा.रिजाल कहाँ हुनुहुन्छ वा के गर्दै हुनुहुन्छ त्यसबारे जानकारी छैन । तर उहाँ अहिलेसम्म क्यम्पसको सम्पर्कमा आउनु भएको छैन । विस्तृत जानकारीका लागि क्याम्पसमा सम्पर्क गर्नु होला ।’ डा.रिजालको ९८४१३३२३६२ को नम्बरमा सम्पर्क गर्दा उनको मोबाईल अफ रहेको छ भने सितापाईलामा रहेको उनको घरमा उनी महिनौ दिनदेखि देखिएको छैन ।

समाचार श्रोतका अनुसार क्यानडा पुगेका डा.रिजाल अहिले त्यही बसेका छन् । उनले आफ्ना फेसबुक अकाउण्टमा पनि क्यानडा पुगेको तस्बिरहरु राख्दै जानकारी गराएका छन् । उनीसँग पीआर रहेकोले उनी प्रत्येक वर्ष त्यहाँ जानु परेको छ । शिक्षा मन्त्रालयले केही महिलाअघि सार्वजनिक सुचना जारी गरी पीआर वा ग्रीन कार्ड भएका कर्मचारीहरुलाई बरखास्त गर्ने जनाएको थियो । तर अहिलेसम्म डा.रिजालका विषयमा डिन कार्यालयले कुनै खोजिनीति गरेको छैन ।

उनी विरुद्ध भदौ १७ गते अख्तियारमा दर्ता भएको निवेदनमा डा.रिजालमाथि तत्कालै कारवाही हुनु पर्ने माग गरिएको छ । विद्यार्थीहरुले दिएको उक्त निवेदनमा डिन कार्यालयले विभागीय प्रमुख सम्पर्क विहिन हुँदा खोजिनीति नगरेकोले डिन कार्यालयलाई पनि यस विषयमा ध्यानाकषर्ण गराउन आग्रह गरिएको छ । विद्यार्थीहरुले डा.रिजालको भिसा चेकजाँच गरी तत्कालै कारवाही गर्नु पर्ने बताएका छन् । त्रिवि शिक्षण संस्थानमा मात्रै होइन अन्य निकायहरु पनि धेरै पीआर तथा ग्रीन कार्डधारी पदाधिकारी अनुपस्थित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.