
हुलाकी न्यूज, जनकपुरधाम ३० भदौ । जनकपुरधाम नजिकैको राजेश्वर निधि उच्च माध्यमिक विधालय नगराइनका विधार्थीहरुले फालिएका सामाग्रीबाट विभिन्न आकर्षक सामाग्रीहरुको निर्माण गरेका छन् । उनीहरुले ती सामाग्रीसहित शैक्षिक प्रर्दशनीको आयोजना गरेर धुमधामका साथ वालदिवस २०७३ मनाएका छन् ।
विज्ञान, गणित र अंग्रेजी विषयको विभिन्न कलात्मक प्रयोगहरु र सामग्री बनाएर विधार्थीहरुले प्रर्दशन गरेका हुन् । अघिल्लो वर्षको वालदिवसमा समान्यतया विदा दिएरै मनाउने गरेका नगराईन विधालयका विधार्थीहरु यो वर्ष भने टिच फोर नेपाल (टिएफएन)को प्रज्ञार्थीको रुपमा कार्यरत शिक्षकहरुको अग्रसरतमा प्रर्दशनीको आयोजना गरेका हुन् ।
विधार्थीहरुले फालिएका वस्तुहलाई प्रयोग गरेर बनाएका आर्कषक वस्तुहरु प्रर्दशनीको आर्कषण रहेको थियो । फालिएका बोतल, प्लाष्टिक, फलाम, टिन, स्टिलहरुलाई प्रयोग गरेर विधार्थीहरुले बनाएका विधुतिय रिक्सा, पानी जहाज, हेलिकप्टर, भ्याकुम क्लिनर, वाटर हिटर, कुलर, सोल्डिं मेसिन र प्रोजेक्टरले प्रर्दशनीमा आएका अवलोकनकर्ताहरुको मन जितेको थियो भने चापको विभिन्न सिद्दान्तलाई बेलुन, पानी, बोतल र पाइपको जादुमय प्रयोग र प्रस्तुतीले अवलोकनकर्तालाई लठ्ठ बनाएको थियो ।
विधार्थीहरुले आलु र कागतिबाट विधुत निकालेका थिए भने तेल र कष्टिक सोडाको प्रयोग गरेर साबुन बनाएका थिए । त्यस्तै त्रिकोण, चतुरभुज, पाईर्चाट, बारग्राफ, ग्राफ र विभिन्न हिसावहरुको नाटकिय र कलात्मक प्रस्तुतीले गणित विषयलाई सजिलो र रोचक बनाएको थियो ।
सामुदायिक विधालयको विधार्थीको अग्रेजी कमजोर हुन्छ भन्ने मानसिकतालाई गलत साबित गर्दै प्रदर्शनीमा विधार्थीहरुले अग्रेजी भाषामै गीत र नाटक देखाएका थिए । प्रर्दशनीमा विज्ञान, गणित र अंग्रेजीको ४० भन्दा बढी स्टलहरु राखिएको थियो । प्रर्दशनीको उदघाट्न धनुषा जिल्लाका जिल्ला शिक्षा अधिकारी चेत कुमार पोखरेलले गरेका थिए । प्रदर्शनीको उदघाटन गर्दै प्रमुख अतिथि पोखरेलले यस्तो शैक्षिक प्रदर्शनीले विधार्थीको सिकाईलाई सजिलो बनाउने भएकोले समुदायीक विधालयले यस्तो प्रर्दशनीमा जोड दिनु पर्ने बताए ।
विधालयमा विज्ञान, गणित र अग्रेजीका ३ जना प्रज्ञार्थीहरु कार्यरत रहेका छन् । धनुषा रघुनाथपुरका प्रभाकर साह विज्ञान, काठमाडांै नया बानेश्वरका अंकुश उप्रेती गणित र जनकपुरका सतिष साह अग्रेजी विषयका प्रज्ञार्थीको रुपमा २ वर्षको लागि नगराईन विधालयमा शैक्षिक सुधारका लागि कार्यरत रहेका छन् ।
टिएफएनका प्रज्ञार्थीहरुको पढाउने शैली, विधार्थीहरुसंगको सरल र मिलनसार व्यवहारले विधार्थीहरुको मानसिकतामा सकारात्मक परिवर्तन आएको र यसले विधार्थी शैक्षिक प्रगतितर्फ उन्मुख भएको विधालयका प्रधानाध्यापक देवेन्द्र लाभले बताए ।
टिएफएन प्रज्ञार्थीहरुले पढाउने धनुषा जिल्लाका ६ विधालय मिलेर कार्तिक ५ गते धनुषा जिल्ला स्तरिय शैक्षिक मेलाको आयोजना गर्ने जानकारी टिएफएनको कर्मचारी प्रविन निरौलाले दिए ।



