
हुलाकी न्यूज, विराटनगर २८ भदौ । संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनप्रति प्रचण्डको सरकार गम्भीर नदेखिएको आरोप लगाएका छन् ।
उनले सरकारले अझैसम्म संविधान संशोधनप्रति गम्भीर नहुनुले आफूहरुलाई शंका उत्पन्न हुन थालेको बताए ।
विराटनगर विमानस्थलमा मंगलबार संचारकर्मीसँग कुराकानी गर्दै संघीय गठबन्धनका संयोजकसमेत रहेका यादवले तीन बुँदे सहमति कार्यान्वयनमा ढिलाई भइरहेकोप्रति चिन्तासमेत व्यक्त गरे ।
उनले संविधान संशोधनप्रति सरकार गम्भीर नभए मधेशी मोर्चाले पुनर्विचार गर्नुपर्ने अवस्था आउनसक्ने बताए ।
उनले मधेशको मुद्दा सम्बोधन गरे मात्र संविधान सर्वस्वीकार्य हुन सक्ने दाबी गर्दै त्यसका लागि प्रमुख राजनीतिक दलहरु मिल्नुको विकल्प नरहेको औंल्याए ।



