
हुलाकी न्यूज, वीरगन्ज २८ भदौ । सरकारले असोज ३ गतेदेखि तीन दिनससम्म संविधान दिवस मनाउने निर्णय गरेको छ भने मधेशभरि तीन दिनसम्म कालो दिवस मनाउने तयार हुँदैछ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, पर्साको मंगलबार बसेको बैठकले आउँदो असोज २ गतेदेखि ४ गतेसम्म ३ दिवसीय कालो दिवस मनाउने निर्णय गरेको छ ।
गत वर्ष भएको मधेश आन्दोलनमा मधेशी आन्दोलनकारीहरु माथि अत्याधिक दमन गरी गैरमधेशी खसहरुको वर्चश्व रह्ने गरी संविधान जारी गरिएको घटनाको विरोधमा कालो दिवस मनाउन थालिएको बैठकका अध्यक्षता गरेका संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादवले बताए ।
असोज २ गते अन्तरक्रिया गर्ने, ३ गते बिहान घण्टाघर चोकमा आन्दोलनको फोटोहरुको प्रदर्शनी तथा साँझ साढे ७ बजेदेखि आधा घण्टा ब्लेक आउट र ४ गते साँझ मधेश आन्दोलनमा मारिएका सहीदहरुको सम्झनामा दिप प्रज्वलन गर्ने निर्णय गरिएको उनले जनाए ।
मंगलवार बसेको बैठकमा नेपाल सदभावना पार्टीका महासचिव शिव पटेल, तराई मधेस सद्भावना पार्टीका पर्सा अध्यक्ष विरेन्द्र यादव, मधेसी जनाधिकार फोरम गणतान्त्रिकका पर्सा अध्यक्ष मुस्तकिम अन्सारी, तराई मधेश लोकतान्त्रिक पार्टीका वीरगन्ज नगर अध्यक्ष मनोज गुप्ता, राष्ट्रिय मधेस सदभावना पार्टीका पर्सा सचिव उमेश सहनी, सद्भावना पार्टीका वीरष्गन्ज् नगर अध्यक्ष ओमप्रकाश सर्राफको उपस्थिती र फोरम नेपालका प्रदेश सचिव सलाउद्दीन अहमदको रहेका थिए ।



