मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष एवं संघीय लोकतान्त्रिक मोर्चाका संयोजक विजय गच्छदार विहीबार अबेर रातिसम्म तीन दलका नेताहरुसँग सहमति पत्र तयार गर्नमा व्यस्त थिए । कारण थियो, शुक्रबार हुने संविधानको हस्ताक्षरमा एउटा भएपनि मधेशीको हस्ताक्षर आवश्यक थियो । तर त्यो पनि भएन ।
उनले शुक्रबार विहानै सहमति हुन लागेका विषयहरुमा पार्टीका नेताहरुलाई जानकारी गराए । तर पार्टीका राजनीतिक समितिका अधिकांश नेताहरुले असन्तुष्टि व्यक्त गरे । उनीसँग थारु नेताहरु नै रुष्ट भए । त्यसपछि उनले जितेन्द्र देबलाई बोकेर तीन दलका नेताहरुसँग सहमतिमा हस्ताक्षर गर्न पुगे ।
गच्छदार पुग्नुभन्दा पहिले राजनीतिक खेल बिग्रि सकेको थियो । भारतीय विशेष दुत एस.जयशंकर नेपाल आई सकेका थिए । तीन दलका नेताहरु शुरुमा भारतीय पक्षको इसाराको प्रतिक्षमा थिए । मधेशी दलहरुमध्ये जसलाई भारतले बढी प्रायोरिटी दिन्छ, त्यसप्रति लचक हुने भनेर ।
तर तीन दलमाथि भारतीय दुतको विशेष प्रभाव परेन । विशेष दुतले प्रभावकारी भूमिका खेल्न सकेन ।
विजय गच्छदारलाई आशंका के थियो भने, भारत मेरो पक्षमा उभिने छैन अथवा महन्थ ठाकुर र राजेन्द्र महतोलाई छोडेर मलाई विश्वास गर्ने छैन । त्यसकारण गच्छदार फटाफट सहमतिमा हस्ताक्षर गरेर संविधानमा हस्ताक्षर गर्ने दाउमा थिए ।
तर तीन दलले उनलाई पेण्डुलम बनाए । गच्छदारमाथि जनविश्वास छैन र उनले उचाल्दैमा आन्दोलन हुँदैन भन्ने कुराको आँकलन तीन दलले राम्री गरेका छन् । त्यसकारण तीन दलले उनलाई आवश्यक पर्ने समयमा प्रयोग गर्ने अनुहारको रुपमा मात्र सिमित राखेका छन् ।
विशेष दुतले गच्छदारलाई पनि काँखी च्यापेन न त मधेशी मोर्चालाई नै भाउ दियो । तीन दलका नेताहरुले विशेष दुतलाई पनि भाउ दिएन । त्यसकारण शुक्रबार हुने भनिएको सहमतिहरु कुनै भएन ।
तीन दलका नेताहरुले धोका दिएको भन्दै प्रधानमन्त्री सुशील कोइरालालाई दिउँसो गुनासो पोख्न गएका गच्छदारको कुरा कोइरालाले पनि सुनदिएन ।
दिनभरी हार खाएपछि गच्छदार शुक्रबार साँझ भारतीय दुतावास पसे । गच्छदार पसेको केही समय पछि विशेष दुत पनि दुतावास आए ।
गच्छदारसँग पनि केही मिनेट कुराकानी भयो । तर भयो त्यही, जो गच्छदारले सोचेको थियो । त्यहाँ पनि गच्छदारले आवश्वासन वा दिलासा केही पाएनन् । बरु विशेष दुतभन्दा राजदुतको उपदेश सुनेर फर्के ।
विहीबार थारु अगुवाहरुले पनि विजय गच्छदारमाथि विश्वास गरेनन् । थारु अगुवाहरु गच्छदारमाथि विश्वास गरेको भए शुक्रबार थारु नेताहरुसँगै सहमतिमा हस्ताक्षर गर्ने दाउमा थिए गच्छदार ।
हुनत् गच्छदार मधेशमा झिल्के आन्दोलन गर्न केही दिनअघि सुनसरी पुग्दा मञ्चबाटै मधेशीको अधिकार नदिए नेपाल टुक्रिने चेतावनी दिएका थिए । त्यती मात्रै होइन, मधेशी सेना नै खडा गर्ने ध्वाँस दिएका थिए ।
फोरम लोकतान्त्रिक कै एक जना नेता भन्छन्,‘गच्छदार अहिले जिन्दगी कै सबभन्दा कनफ्यूज अवस्थामा छन् । दोस्रो संविधानसभाको चूनाव पछि आकार सानो भएका गच्छदार त्यसबेला उपेन्द्र यादवलाई अध्यक्ष मानेर पार्टी एकीकरण गर्न तयार थिए । तर उपेन्द्रले मानेन । अहिले पनि गच्छदार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा जान खोज्दैछन् तर जान पाएको छैन । गच्छदार पुनः संविधान सभामा फर्किन खोज्दैछ तर अहिले तीन दलले उनलाई पत्याएको छैन ।’



