
हुलाकी न्यूज, जलेश्वर २७ भदौ । जनकपुरधाम–भिठ्ठामोड सडकखण्डलाई ६ लेनको बनाउन आन्दोलन गर्दै आएको संयुक्त संघर्ष समितिले सोमबार मानव साङ्लो बनाई प्रदर्शन गरेको छ ।
वर्षौंदेखि जीर्ण रहेको जनकपुर–भिठ्ठामोड सडकखण्डबाट राज्यले वार्षिक करोडौं अर्बौंको राजस्व संकलन गर्छन् तर मर्मत सम्भार गरेको छैन ।
जीर्ण सडकका कारण सडकखण्ड आसपासका बासिन्दाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको छ भने दुर्घटनामा परी कतिपयले ज्यानसमेत गुमाउनु परेको छ ।

संघर्ष समितिको पूर्वनिर्धारित कार्यक्रमअनुसार सोमबार मानव साङ्लो प्रदर्शन गरिएको छ भने ६ जनाले आमरण अनसनसमेत बस्ने घोषणा गरिसकेका छन् ।
यता, भौतिक योजना तथा यातायात मन्त्रीले जनकपुर–भिठ्ठामोड सडकखण्ड चार लेनको बनाउनका लागि शिलान्याससमेत गरिसकेका छन् । तर, समितिले ६ लेनको सडक बन्नुपर्ने माग गर्दै आन्दोलनमा छ ।



