
हुलाकी न्यूज, काठमाडौं २७ भदौ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्रबीच भएको तीनबुँदे सहमति कार्यान्वयनको चरणमा रहेको भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखकले बताएका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री लेखकले संविधान संशोधनका लागि राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति बनाउने चरणमा रहेको दाबी गरेका छन् ।
उनले अहिलेको सरकारको मुख्य जिम्मेवारी भनेको नै संविधान कार्यान्वयन भएकोले सोही बमोजिम कामहरु अघि बढेको उल्लेख गर्दै लेखकले भने, ‘संविधान कार्यान्वनयका लागि आवश्यक सबै कामहरु सरकारले अघि बढाएको छ ।’
उनले संविधानको संशोधनमार्फत असन्तुष्ट पक्षहरुलाई संविधानको सर्वस्वीकार्यतामा ल्याउने काम, समयमै तीनवटै निकायको चुनाव सम्पन्न गर्ने लगायतका कामहरु गर्नेगरि सरकार अघि बढिरहेका जानकारी दिएका छन् ।
उनले संविधान संशोधनका लागि दलहरुबीच राम्रो वातावरण बनेको समेत बताए ।



