
हुलाकी न्यूज, काठमाडौं २१ भदौ । नेकपा एमालेका नेता शंकर पोखरेलले मधेशीलाई होच्याउने खालको अभिव्यक्ति दिएपछि संघीय समाजवादी फोरमका नेता अभिषेक प्रताप शाहले नेता पोखरेलको मानसिक सन्तुलन गुमेको टिप्पणी गरेका छन् ।
एमाले नेता पोखरेलले मंगलबार विहान ९ बजे र ४१ मिनेटमा मधेशीलाई होच्याउने खालका अभिव्यक्ति दिदै समाजिक सञ्जाल ट्वीटरमा लेखेका थिए,‘मधेशी जनता अधिकांश कालो वर्णका छन् । मधेशी मोर्चाले असोज तीनलाई कालो दिवस भनेर त्यहाँका जनताको सम्मान गर्न खोज्यो कि अपमान ?बुझ्न गाह्रो भो ।’
नेता पोखरेलका यसअघिका ट्वीटहरु पनि मधेशीलाई होच्याउने खालका रहेका छन् । पोखरेलको आलोचना हुन थाले पछि उनी दिउँसो त्यो ट्वीट हटाएका छन् । मधेशी अगुवा तथा सर्वसाधारणहरुले समाजिक सञ्जालमा पोखरेलको व्यापक आलोचना गरेका छन् ।
यता फोरम नेता तथा संसद अभिषेक प्रताप साहले आफ्नो फेसबुकमार्फत नेता पोखरेलले मानसिक सन्तुलन गुमाई सकेको टिप्पणी गरेका छन् ।




