
हुलाकी न्यूज, नेपालगंज : प्रहरी हिरासतमा मारिएका राम मनोहर यादवको लासलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कोहलपुर प्रहरीले यादवको लास नियन्त्रणमा लिँदै श्रद्धाञ्जली दिन पुगेका २१ जनालाई पक्राउ गरेको छ।
आइतबार काठमाडौंस्थित टिचिङ्ग हस्पिटलबाट लास लिएर यादवको गाउँ बाँकेको कपासी जाने क्रममा प्रहरीले कोहलपुर मै लास नियन्त्रणमा लिएको हो। साथै श्रद्धाञ्जलीका लागि गइरहेको ना ४ ख ९३६१ नम्बरको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।
उक्त बसमा सबार २१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँकेका एसपी अरुण पौडेलका अनुसार राम मनोहरको लास लिएर नारा जुलुस गर्ने तयारी देखिएपछि नियन्त्रणमा लिइएको छ।
‘लास लिएर अबान्छित गतिविधि गर्ने देखियो। त्यही भएर सम्झाउने प्रयास हुँदैछ। केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ उनीहरुमाथि अनुसन्धान भइरहेको छ।’ एसपी पौडेलले हुलाकी न्यूजसँग भने।
स्वतन्त्र मधेश गठबन्धनका नेता राम मनोहर यादवको पाँच महिनाअघि प्रहरी हिरासतमा मृत्यु भएको थियो। आइतबार उनको लास परिवारजनले बुझेर सोमबार दाहासंस्कारको तयारी गरिएको छ। तर प्रहरीले उनको लास कोहलपुर मै नियन्त्रणमा लिएको स्वतन्त्र मधेश गठबन्धनका नेता जासर यादवले जानकारी दिएका छन्।
यसैबीच राम मनोहर यादवलाई श्रद्धाञ्जी दिन उनको गाउँमा ठूलो संख्यामा सर्वसाधारणहरु उपस्थित भएका छन्। अहिले प्रहरीले उनको गाउँमा सर्वसाधारणलाई प्रवेश गर्न रोक लगाएका छन्।
गाउँभित्र प्रवेश गरिसकेका सर्वसाधारणहरु त्यही रोकिएको स्वतन्त्र मधेश गठबन्धनले जनाएको छ।
गठबन्धनका स्थानीय नेता संजय साहले दिएको जानकारी अनुसार प्रहरीले राम मनोहरको लास विना कुनै श्रद्धाञ्जली सभा गरी जलाउन दबाब दिदै आएको छ। लास फिर्ता पाउन प्रहरीसँग राम मनोहरको परिवारजनले पहल गरिरहेको छ।




[…] राम मनोहरको लास प्रहरी नियन्त्रणमा : श… […]
[…] राम मनोहरको लास प्रहरी नियन्त्रणमा : श… […]
[…] राम मनोहरको लास प्रहरी नियन्त्रणमा : श… […]