मनोजकुमार मोरबैता
कमला,२९ कार्तिक (रासस ) : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पाँच दिन मात्रै बाँकी रहनुभएको छ । निर्वाचनमा प्रचारप्रसारका लागि तीनदिन बाँकी रहँदा धनुषा निर्वाचन क्षेत्र नं २ मा चुनावी माहोल तातेको छ ।

सत्तारुढ गठबन्धनबाटै दुई जनाले उम्मेदवारी दिएपछि धनुषा क्षेत्र नं २ को चुनावी भीडन्त रोचक बनेको छ । अझ उम्मेदवारमध्ये तीन जना पूर्वमन्त्री चुनावी मैदानमा छन्् । सत्तारुढ गठबन्धनबाट कांग्रेसका पूर्वमन्त्री रामकृष्ण यादव र सत्तारुढ गठबन्धनबाटै नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री रामचन्द्र झा चुनावी मैदानमा रहनुभएको छ ।

अन्य क्षेत्रमा एमाले–जसपाबीच गठबन्धन भए पनि यो क्षेत्रमा भने दुवै दल स्वस्थ्य प्रतिस्पर्धामा उत्रिएका छन् ।

एमालेबाट पूर्वमन्त्री उमाशङ्कर अरगरिया र जसपाबाट गङ्गाराम यादवले उम्मेदवारी दिनुभएको छ । राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले आ–आफ्नो तरिकाले घरदैलो गरिरहेका छन् । उनीहरूले घोषणापत्रसहित प्रतिबद्धता मतदाताकाबीच पु¥याएका छन् ।

यसक्षेत्रमा एक लाख २४ हजार सात सय ४५ जना मतदाता रहेको छ । जसमध्ये पुरुषतर्फ ६६ हजार आठ सय १० र महिलातर्फ ५७ हजार तीन सय ४४ जना रहेको निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन क्षेत्र नं २ धनुषाले जानएको छ ।

धनुषा क्षेत्र नं २ मा एक सय ६५ वटा मतदान केन्द्र तोकिएको सो कार्यालयले जनाएको छ । धनुषाको क्षेत्र नं २ मा कमला नगरपालिका शहीदनगर नगरपालिका, जनकनन्दिनी गाउँपालिका, औरही गाउँपालिका, विदेह नगरपालिका–१ देखि ८ सम्म, हंसपुर नगरपालिका–१,४ ,६ ,९ र जनकपुरधाम उपमहानगरपालिका– १७ र १८ रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभामा राजनीतिक दल र स्वतन्त्र गरी १६ जना उम्मेदवार रहेका छन् । त्यसैगरी, सोही क्षेत्रको प्रदेशसभा (क) तर्फ १४ जना र प्रदेशसभा (ख) १७ गरी प्रदेशसभाको लागि ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

तत्कालीन सङ्घीय समाजवादी फोरमबाट प्रतिनिधिसभामा उमशङ्कर अरगरिया निर्वाचित हुनुभएको थियो । अरगरिया यो पटक एमालेबाट उम्मेदवार बन्नुभएको हो । २०७४ सालको निर्वाचनमा अरगरियाले ३२ हजार ४४ मत पाउँदा रामचन्द्र झाले १८ हजार सात सय १५ र रामकृष्ण यादवले १५ हजार चार सय ४२ मत पाउनुभएको थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.