जनकपुरधाम,३० बैशाख । पूर्वी धनुषाको कमला नगरपालिका वडा नं. ४ का निवर्तमान वडाध्यक्ष एवम् वडाध्यक्षका उम्मेदवार पल्टु कवारी सहित उनका पाल्तुहरुले एक सँचारकर्मीमाथि कुटपिट गरेको छ ।
शुक्रबार विहान (विहिबार राती १२ः३०) बजेको समयमा गाउँमा घुमेर पैसा बाँडिरहेको अवस्थामा रिपोर्टिँग गर्न गएका संचारकर्मी मनोज मोरबैतालाई उम्मेदवार पल्टु कवारीले कुटपिट गरेको हो ।
रातीमा प्रत्येक घरमा गएर मतदातालाई प्रभावित गर्नको लागि पैसा दिने गरेको जानकारी पाएपछि सूचना सँकलन गर्न गएका सँचारकर्मी मोरबैतामाथि वडाध्यक्षका उम्मेदवार पल्टु कवारी आफैँले पनि कुटपिट गरेको गुनासो मोरबैताले गरेका छन् ।
पल्टु कवारीका सहयोगी र कार्यकर्ताहरुले प्रदेश २–०१–००३ प ६२४४ नम्बरको मोटरसाईकल पार्किँ गरी घरैघर पैसा बाँडन गएको बेला सँचारकर्मी मोरबैताले तस्विर र भिडियो सँकलन गर्न गएका थिए ।
सोही क्रममा नेकपा (समाजवादी) कलम छापबाट उम्मेदवारी दिएका कवारीसहित उनका आसेपासेहरुले उनलाई कुटपिट गरेको आरोप सँचारकर्मी मोरबैताको छ ।
चुनावको पूर्व सन्ध्यामा ग्रामिण भेकमा ठुलो रकमको चलखेल हुने गरेको छ । मतदातालाई प्रभावित गर्न बलपूर्वक पनि रकम दिने गरेको देखिएको छ । निर्वाचन आयोगले यस्तो ठहरिए उम्मेदवारी समेत रद्द गर्न सक्ने चेतावनी दिएको छ ।