हुलाकी न्यूज, जनकपुरधाम । प्रदेश २ को नाम मधेस प्रदेश नभए राजधानी पनि जनकपुरधाम नहुने सत्तारुढ दल जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्य योगेन्द्र राय यादवले बताएका छन्।
शुक्रबार प्रदेशसभा बैठकको क्रममा भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीसमेत रहेका यादवले प्रदेशको नाम मधेस नभए राजधानी जनकपुरधाम नहुने बताएका हुन्।
‘राजनीतिक सवालको राजा जनक र माता जानकीसँग जोडेर बहस गरे कहिल्यै प्रदेशको नाम र स्थायी राजधानी दिन सक्दैनौँ, उनले अगाडि भने, ‘यदि स्थायी राजधानी र नामको जब चर्चा हुन्छ, अनि जनकपुरधामलाई सहर्ष स्वीकार गर्ने भोजपुरावासी, बज्जिकावासीको आत्मामा चोट नपुगोस् यो मेरो मिथिलावासीसँग आग्रह हो।’
यादवले नाम र राजधानी मिथिलाकै पक्षमा नहुने बताए । उनले भने, ‘यदि तपाईं चाहनुहुन्छ कि चित पनि मेरो र पट्ट पनि मेरो तब हुन सक्छ हामी पनि स्थायी राजधानीलाई भन्छौँ भोजपुरातर्फ लागौँ। यदि, मधेस तपाईंलाई पसन्द छैन भने जनकपुरधाम पनि हामीलाई पसन्द छैन।’
पछिल्लो पटक प्रदेशको नाम र राजधानीका लागि निर्वाचन हुँदा कुनैमा पनि दुई तिहाइ पुगेको थिएन। समितिमा प्रदेशको राजधानी जनकपुरधाम सर्वसहमतिमा पास भए पनि मधेस नामको प्रस्तावमा दुई तिहाइ नपुग्दा नाममा समेत पुगेको थिएन। निर्वाचनपश्चात् विपक्षी दलले सत्तारुढ दलकै सांसदहरूले जनकपुरधामको विपक्षमा मतदान गरेको भन्दै आरोप लगाएका थिए।
अहिले प्रदेशसभा बैठकमा प्रदेश २ को नामकरण र राजधानीको विषयमा छलफल चलिरहेको छ।



