हुलाकी न्यूज,जनकपुरधाम । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न नागरिकलाई आग्रह गरेका छन् ।
दक्षिण अफ्रिकामा देखिएको कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि आउन सक्ने आंकलन गरिएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विश्वको जुनसुकै कुनामा नयाँ भेरियन्ट देखापर्दा नेपालमा पनि उत्तिकै जोखिम हुने भएकाले स्वास्थ्य सावधानी अपनाउन आवश्यक रहेको बताए । नयाँ भेरियन्टको जोखिमका कारण दक्षिण अफ्रिका हुँदै नेपाल आउने यात्रुलाई अनिवार्य रुपमा एक हप्ता क्वारेन्टिनमा राख्ने विषयलाई मन्त्रालयले कडाइका साथ कार्यान्वयन गर्ने भएको छ ।
दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य सङ्गठनले ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेपछि अफ्रिका हुँदै नेपाल आउने यात्रुका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनिवार्य क्वारेटिनको व्यवस्था गरेको उनले बताए ।



