हुलाकी न्यूज, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष सुदर्शन सिंहलाई सफाइ कर्मचारीले भ्रष्टाचारी मेयर मुर्दाबाद, सफाइ कर्मचारी मुर्दाबाद, जनकपुरलाई सफा गर, करारको कर्मचारीलाई खारिज गर लगायतका नारा लगाई गालीगलौज गरेपछि नगरप्रमुख, सफाई कर्मचारी विरुद्ध नारावाजी गर्दै वडाध्यक्षहरुले तालाबन्दी गरेका हुन् । वडाध्यक्ष तथा वडासदस्यहरुले नगरप्रमुख लालकिशोर साहको कार्यकक्षमा ताला लगाएका छन् ।
दुव्र्यवहारमा परेका वडाध्यक्ष सिंहले आफ्नो वडामा गाई मरेकोले त्यसलाई हटाउनका लागि सफाइ कर्मचारीसँग आग्रह गर्दै मरेको गाईलाई हटाउनुको साटो आफुलाई दुव्र्यवहार गरेको बताएका छन् । उनले भने, ‘आज सञ्चयकोषको कार्यालय नजिक छाडा गाई मरेको अवस्थामा थियो । मैले सफाइ कर्मचारीलाई फोन गर्दा फोनमा कुरा गर्दा फोनमै गालीगरि कार्यालयमा आउँदा म सँग नै दुव्र्यहार गर्नुभो, विभिन्न अपशब्दहरु प्रयोग गर्नुभएका छन् ।’
उनले नगर प्रमुख साहकै इशारामा सफाइ कर्मचारीले जनप्रतिनिधिलाई दुव्र्यवहार गर्ने गरेको आरोप लगाए । उनले सरसफाईमा अनिश्चितता देखिएपछि आफुहरुले बाध्य भएर ताला हानेको बताएका छन्।
वडा नं. ७ का वडाध्यक्ष जानकी राम साहले सफाईको लागि नै उपमहानगरपालिकामा ताला लगाएको बताएका छन्। उनले सफाईको लागि पाँच महिना अघि हस्ताक्षर सहित निवेदन दिएपछि त्यसमा अहिलेसम्म कुनै सुनुवाई नभएको बताएका छन्। उनले सफाइको लागि जहिले पनि ट्याक्टर माग्दा कर्मचारीहरुबाट दुव्र्यवहार हुनेगरेको दावी गरेका छन्।
तालाबन्दी गर्नका लागि जनकपुरधाम उपमहानगर वडा नम्बर १ का वडाध्यक्ष शत्रुधन साह, वडा नम्बर ३ का वडाध्यक्ष दीपेन्द्र साह, वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंह, वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साह लगायत पुगेका थिए । वडाध्यक्षले तालाबन्दीपछि नगर प्रमुख लालकिशोर साहविरुद्ध नारावाजी गरेका थिए।



