जनकपुरधाम, कार्तिक ११ । ६५ प्रतिशत बालबालिकाको रगतमा ‘लिड’ अर्थात सिसाको मात्रा भेटिएको छ । ‘लिडको विषयबाट बचावटका लागि नवौँ अन्तर्राष्ट्रिय सचेतना सप्ताह–२०२१’ का अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएओ) को सहयोगमा जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रले गरेको कार्यशाला गोष्ठीमा विज्ञले एक डेसिलिटर रगतमा पाँच माइक्रो ग्रामभन्दा बढी सिसा (लिड) हुन नहुनेमा नेपालका बालबालिकाको शरीरमा त्यो भन्दा बढी पाइएको जानकारी दिनुभयो ।

घर, विद्यालय तथा अस्पतालका भित्ता, फर्निचरमा लगाउने रङमा लिडको मात्रा प्रशस्त हुने भएकाले त्यसले स्वास्थ्य तथा वातावरणमा पार्ने समस्याको न्यूनीकरण गर्न जनचेतनाका फैलाउनु पर्नेमा जोड दिइएको छ । डब्ल्यूएओको नेपालमा रहेको कार्यालयका जनस्वास्थ्य सल्लाहकार डाक्टर खुर्सिद अलम हेदरले सरकारले सात वर्षअघि पेन्टमा तोकेको लिडको मापदण्डको व्यापक प्रचारप्रसार हुनुपर्ने बताउनुभयो ।

उहाँले नसर्ने रोग बढिरहेको सन्दर्भमा रङमा प्रयोग गरिने लिडलाई ध्यानमा राखेर त्यसबारे गम्भीर हुन सम्बन्धित निकायलाई अनुरोध गर्नुभयो । कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक रामचरित्र साहले लिडले बालबालिकाको शारीरिक तथा मानसिक एवं बौद्धिक विकासमा सिधै असर गर्ने हुँदा यसलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकारले २०७१ पुस ७ गते राजपत्रमा प्रकाशित गरी पेन्टस्मा लिडसम्बन्धी तोकेको बाध्यकारी मापदण्ड ९० पीपीएम सम्मलाई प्रयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो । उहाँका अनुसार लिडले मानिसको मुटु, स्नायु र प्रजनन प्रणालीमा समेत असर गर्दछ । बालबालिकाको शरीरमा लिडको मात्रा धेरै भएमा स्मरण शक्तिमा ह्रास आउने साहले दाबी गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.