जनकपुरधाम, ७ कार्तिक । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले आफ्ना नेता कार्यकर्तालाई रिहाइ गर्नुपर्ने माग गर्दै सोमबारदेखि आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
गत बिहीबार संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश कुशवाहाले भ्रष्टचार गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताहरुले कुशवाहालाई कालोमोसो र हिलो दलेर जनकपुरधाम नगर परिक्रमा गराएका थिए त्यस पश्चात प्रहरीले जनमतका १७ जना जनताहरु पक्राउ गरि मुद्दा दर्ता गरेको छ ।
जनमतले पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत कार्तिक ८ गते सोमबार जिल्ला स्तरीय बैठक राख्ने, जिल्लामा आन्दोलन समिति बनाउने, जिल्ला कार्यकारिणी समितिबाट हरेक पालिकालाई आन्दोलनका लागि तयार गर्न अनुगमन अधिकारी तोक्ने र हरेक जिल्लाको सदरमुकाममा सिटी जुलुस निकाल्ने कार्यक्रम तय गरेको छ ।
त्यस्तै, मंगलबार गाउँपालिका स्तरीय बैठक राख्ने, पालिका स्तरीय आन्दोलन समिति बनाउने, पालिकामा बाइक रैली गर्दै नारा माइकिंग गराउने, बुधबार हरेक वडामा आन्दोलन समिति बनाउने, वडामा कोणसभा गर्ने र मशाल जुलुस निकाल्ने, बिहीबार वडामा युवा दस्ता प्रशिक्षण दिने, आरपार आन्दोलन गर्न तयारी गर्ने, शुक्रबार जिल्ला सदरमुकाममा मशाल जुलुस निकाल्नेलगायतका कार्यक्रमहरु तय गरेको हो ।
जनमतले कार्तिक १३ गते शनिबार अधिवेशनका कार्यक्रमहरू सम्पन्न गर्ने, कार्तिक १४ गते आइतबार केन्द्रीय कार्यकारिणी समिति र जिल्ला कार्यकारिणी समितिको बैठकले आन्दोलन समीक्षा गरी आन्दोलनको थप कार्यक्रम ल्याउने, कार्तिक १५ गते सोमबार गाउँपालिकाको ठूलो बजार र हटियाहरूमा कोणसभा गरेर आन्दोलनका मागहरू जनता समक्ष अवगत गराउने र कार्तिक १६ गते मंगलबार वडा तथा टोलहरूमा कोणसभा र अन्तरक्रिया कार्यक्रमहरू गरेर माग जनता समक्ष अवगत गराउने, सबै जनता आन्दोलनमा आउने गरी सर्वपक्षीय जनआन्दोलनको तयारी गर्ने कार्यक्रम निर्धारण गरेको पार्टी अध्यक्ष डा.सिके राउतले जनाएका छन् ।