
जनकपुरधाम,कार्तिक ४ । डा. सिके राउतको पार्टी जनमत पार्टीका कार्यकर्ताले भ्रष्टाचार गरेको भन्दै खानेपानी तथा ढल निकास कार्यालय जनकपुरधामका कार्यालय प्रमुख राजेश कुशवाहालाई कालोमोसो र हिलो दलेर जनकपुरधामको नगर परिक्रमा गराएका छन् ।
वर्षाको पानी ढल निकास भएर बग्न नसकेको भन्दै जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुले भ्रष्टाचार गरेको भन्दै खानेपानी तथा ढल निकास कार्यालय जनकपुरधामका निमित्त प्रमुख कुशवाहालाई नगर परिक्रमा गराएका हुन्।
ढल निर्माणमा अनियमितता भएकोको कारण नगर जलमग्न भएको भन्दै जनमत पार्टीका कार्यकर्ताहरुले प्रदर्शन गरेको स्थानीयको भनाइ छ। जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ स्थित ढल निकासको लागि पटक पटक लिखित र मौखिक गुनासो गर्दा समेत ध्यान नदिएकाले जनकारबाही गरिएको जनमत पार्टीले जनाएको छ । सोही क्रममा प्रहरीले एक दर्जन बढी कार्यकर्तालाई पक्राउ गरेको छन् ।
प्रेस जनमत संघका अध्छ्य विपी शाहले खानेपानी आयोजनामा भ्रष्टाचार गरेकाले जनकारवाही गरिएको बताए । यसअघि जनकपुर उपमहानगरपालिका र खानेपानी कार्यालयलाई ग्यापनपत्र बुझाइएको थियो। त्यसपछि तालाबन्दी गरिएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयलाई पनि ग्यापनपत्र बुझाइएको थियो। प्रदर्शन भएको थियो तर बारम्बार आग्रह गरिएको थियो तर यिनीहरू भ्रष्टाचारमा मग्न भएपछि आजको प्रदर्शन गरिएको बताएका छन् ।
तराई मधेसमा भ्रष्टाचार व्यापक रूपमा बढिरहेको भन्दै त्यसलाई राज्यको तर्फबाट नियन्त्रण हुन नसकेपछि आफूहरू कारवाहीका लागि उत्रिएको उनकाे भनाइ रहेको छ । भ्रष्टाचारी र अत्याचारीका नाइकेहरू सप्तरी, धनुषा तथा सर्लाही लगायतका जिल्लातिर नै घुमिरहेको भन्दै उनले सबैलाई यसरी नै कारवाही गरिने बताएका छन् ।



