जनकपुरधाम,कार्तिक ३ । दशैंदेखि नै निर्वाचन क्षेत्र नम्बर ३ मा शुभकामना आदानप्रदानमा रहेका लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट नै चुनाव लडने बताएका छन् ।
महतो यस पटक क्षेत्र परिवर्तनगरि चुनाव लड्ने चर्चा चलिरहेको बेला उनले ३ नम्बर क्षेत्रबाट नै चुनाव लड्ने निश्चित रहेको बताए।
‘धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ बाट नै म चुनाव लड्छु’ मैले अन्यत्रबाट चुनाव लड्ने भ्रम फैलाउने काम केहि विपक्षी दलका नेताहरुले गरिरहेका छन् ऊनले बताएका छन्। नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिलाई पराजितगरि महतो धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ बाट गत संसदीय निर्वाचनमा विजयी भएका थिए।
महतोको प्रतिष्पर्धा फेरी निधिसित नै हुने देखिन्छ । लोसपाका वरिष्ठ नेता रहेका महतोलाई चुनाव लड्न संसदीय क्षेत्रको चयन गर्न कुनै कठिनाई नरहेकाले उनले रोजेको क्षेत्र ३ नम्बरबाट नै फेरी निधिसित भिडने छन् । पछिल्लो चुनावमा महतो राजपा र समाजवादी पार्टी गठबन्धनको संयुक्त उम्मेदवार थिए ।
उनको प्रचारमा तत्कालिन समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उत्रेका थिए । तर यस पटक दुवै दल विभाजित छ ।जसपाको काँग्रेससित देशभरि नै गठबन्धन रहेको छ । महतोलाई सघाएको एमालेले भने यस पटक जुली महतोलाई उम्मेदवार बनाउने संभावना बलियो छ । हुनत जुली धनुषाको निर्वाचन क्षेत्र नम्बर १ ताकेकी छन् ।तर उनलाई त्यहाँ भन्दा निर्वाचन क्षेत्र नम्बर ३ ‘कम्फर्टेबल’ रहेको बताइन्छ ।



