जनकपुरधाम,कार्तिक २ । माओवादी नेता एवं पुर्व मन्त्री मातृका प्रसाद यादवले जनयुद्धको क्रममा भएको सम्पूर्ण घटनाको जिम्मेवार पार्टीले लिएको बताएका छन् । प्रजातन्त्र सेनानी हृदय नारायण चौधरीद्वारा लिखित तथा प्रकाशित ‘साहित्य समाजका दर्पण है’नामक पुस्तकको सर्लाहीमा विमोचन गर्दै यस्तो बताए । जनयुद्धमा लागेको ब्यक्ति भएकोले जतिपनि घटनाहरु भएका छन् त्यसको नैतिक रुपमा जिम्मेवार आफु हरु रहेको उनले प्रष्टयाए ।
उनले पार्टी सरकारमा रहेको तर सरकार हाम्रो नरहेको उल्लेख गर्दै यस्तो भ्रममा नपर्न आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरुसँग आग्रह समेत गरे । विमोचन गरिएको पुस्तकका लेखक तथा प्रकाशक सर्लाही पडरिया वडा न–१ निवासी चौधरीले पुस्तकको बारेमा प्रकाश पार्दै यसमा झुठ, फरेव, जाल, साजिश, बेइमानी, पाखण्ड र अत्याचारीहरुको पर्दाफास गर्नुका साथै भगवान रामकृष्ण, जिसस –क्राइस्ट, बुद्ध, महाविर, जुन्नैद, लाओत्से, आइन्सटाइन, लालबहादुर शास्त्री, लक्ष्मी प्रसाद देवकोटा लगायतको चर्चा गरिएको बताए । उनले यस पुस्तक मार्फत भ्रष्टाचार र त्यसको निदानको लागि नयाँ बाटो समेत देखाएका छन् ।
बि.स २०३६ सालको जनक्रान्तिमा सक्रिय भूमिका खेलेका चौधरीले पुस्तकमार्फत सामाजिक, राजनीतिक, धार्मिक तथा राजनीतिक घटनाक्रमको चर्चा गरेका छन् । यसलाई एक्काइसौं शताब्दीको लागि एउटा अनौठो पुस्तकको रुपमा प्रस्तुत गरिएको चौधरीले बताए ।



