जनकपुरधाम,असोज २६ शारदीय नवरात्र (दशहारा, बडादसैँ)को अवसरमा निर्मित दुर्गाभवानीका प्रतिमा आज महासप्तमी फुलपातीका दिन बेलको भेट्नुले खोस्रेर आँखा खोलिएसँगै सर्वसाधारणको दर्शनका लागि खुला गरिएका हुन् । बेलको भेट्नोले आँखा खोस्रेर उघारेपछि शास्त्रोक्त विधिले प्रतिमाको प्राणप्रतिष्ठा गरेपछि देवी साक्षात अवतरित हुने विश्वास गरिन्छ ।

पर्वका अवसरमा माटो मुछेर बनाइएका देवी प्रतिमाको आँखा सप्तमीका दिन बेलफलको भेट्नुले खोस्रेर उघारेसँगै पुरोहितले वैदिक मन्त्रोच्चारणबीच प्राणप्रतिष्ठा गराएपछि प्रतिमास्थलको पर्दा उघार्ने मैथिल परम्परा छ ।आँखा नउघारिएसम्म देवी प्रतिमाको प्राणप्रतिष्ठा नहुने भएकाले फुलपातीका दिनमात्र आँखा उघारेर प्रतिमा सर्वसाधारणका लागि खुला गर्ने चलन रहेको छ ।

यसअघि हिजो षष्टी तिथिका दिन देवी प्रतिमाको आँखा उघार्ने प्रयोजनका लागि बस्तीमा रहेको बेलवृक्ष पुगेर एउटा बेलफललाई रातो रुमालले छोपेर बाँधी ‘बेलनौत’ विधि सम्पन्न गरिएको थियो । षष्टी तिथिमा बेलफल रोज्ने विधिलाई ‘बेलनौत’ र सप्तमीका दिन बिहानै बेल टिप्ने विधिलाई ‘बेलतोडी’ भनिने मैथिल चलन छ ।

‘बेलनौत’ र ‘बेलतोडी’ विधि खासमा पर्वमा माटो मुछेर बनाइएका देवी प्रतिमास्थलमा आयोजित हुन्छन् । यसबाहेक पहिलेदेखि नै रहेका काठ वा धातुबाट बनेका प्रतिमाको प्राणप्रतिष्ठा पहिले नै भइसकेको हुनाले यस्ता मन्दिरमा यी विधि अनिवार्य मानिदैनन् । देवी प्रतिमास्थल खुला गरिनुअघि आज एकाबिहानै बाजागाजासहित बेलको रुखनिर पुगेको पुरोहितसहितको टोलीले आँखा उघार्ने प्रयोजनका लागि सोमबार (षष्ठी अर्थात् नवरात्रको छैटौँ दिन) निम्ता गरिएको बेल टिपेर ल्याई त्यही बेलको भेट्नुले देवी प्रतिमाको आँखा खोस्रेर उघारिएको थियो ।

फूलपातीका दिन आज तराई क्षेत्रका देवी शक्तिपीठ र मन्दिरमा विशेष पूजाअर्चना गरेर पशुबलि दिन थालिएको छ । पर्वका अवसरमा महोत्तरी जिल्लाको औरही नगरपालिका–७ को भोइलस्थित सोनामाई मन्दिरमा पञ्चमीकै दिनदेखि भूतमेला सुरु भएको छ । अघि सत्ययुगमा दुर्गाभवानीले दमन गरेकी राक्षसी दुष्ट आत्मा र तिनका अनुयायीले दुःख दिएकाहरुको दुःख निवारणका लागि धामीझाँक्रीले ती दुष्टआत्मालाई तह लगाउन तान्त्रिक विधिबाट देवीको आराधना गरिने चलनलाई यहाँ बोलीचालीमा भूतमेला भन्ने गरिएको हो । यस्तो बेला साधकको साधनाबाट दुष्टआत्मा त्यहीँ नै छट्टाउने गरेका सोनामाईस्थानका मुख्य पुजारी केदार झा बताउनुहुन्छ ।

महोत्तरीका देवी शक्तिपीठ सोनामाई, बर्दिबास नगरपालिका–४ माईस्थानस्थित पञ्चधुरा माई, जलेश्वर नगरपालिका–१ स्थित संसारीमाई, राजदेवी माई, भङ्गाहा नगरपालिका–५ स्थित गढीमाई, दुर्गा मन्दिर, पिपरा गाउँपालिकाको बनौलीमोडस्थित बौकीमाई मन्दिरमा ,जनकपुरधामको राम्नंद चोक,मुरली चोक,बजरंग चोक र रजौओल स्थित बनाएको दुर्गा प्रतिमा बेलको भेट्नुले देवी प्रतिमाको आँखा खोस्रेर विशेस पूजासँगै पशुबलि दिईनछ। यी ठाउँमा आयोजित दुर्गा मेला (जात्रा)मा आयोजित खेल तमासा हेर्न आज एकाबिहानैदेखि दर्शकको भीड बढ्दो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.