जनकपुरधाम,असोज २१ । महोत्तरीमा अज्ञात समूहले ९० वर्षीया वृद्धालाई घरमा सुतिरहेको अवस्थामा पेस्तोल देखाई लुटपाट गरेको छ । जलेश्वर नगरपालिका– ९ फुल्हट्टाका कैलाश सिंहकी आमा मन्दोदरी देवीको शरीरका गहना चारजनाको समूहमा आएका लुटेराले लुटेको प्रहरीले जनाएको छ ।

कैलाशकी आमा घरमा एक्लै रहेको मौका छोपी बिहीबार बिहान करिब २ बजे लुटेरा समूह घरमा प्रवेश गरेको हो। कैलाश झापामा भेटेरिनरी अस्पतालका चिकित्सकका रुपमा कार्यरत छन् ।

सो समूहले प्रकौलीस्थित जानकी परीक्षण माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा कैलाशका दाजु निर्मल सिंहको घरमा समेत चोरी गरेको बताइएको छ। निर्मलको पर्समा भएको नगद चोरी गरी सो समूह कैलाशको घरमा प्रवेश गरेको थियो । वृद्धाको कन्चटमा पेस्तोल राखेर घाँटीसमेत थिची हल्ला गरे ज्यान मार्ने धम्की दिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

सो समूहले गरगहनासहित घरमा रहेका अन्य सामानहरू पनि लगेको बताइएको छ । प्रहरीले घटनास्थल पुगेर मुचुल्का उठाइसकेको र आशंकित व्यक्तिहरूको खोजबिन भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.