रौतहट,१८ असाेज । विगत डेढ वर्षदेखि बन्द रहेको रौतहटको नेपाल–भारत सीमा नाका खुल्न सकेको छैन । सरकारले सबै नाका खोल्ने निर्णय गरे पनि रौतहटको सीमा नाकामा भारतीय पक्षका कारण सवारी आवागमन हुन सकेको छैन ।

असोज ५ गते बसेको मन्त्रिपरिषदको बैठकले सबै सीमा नाकामा स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण कार्यान्वयनसहित आवागमन सुचारु गर्ने निर्णय गरेको थियो । तर भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’ले माथिबाट आदेश नभएको भन्दै रोकेपछि नाका खुला गर्ने सरकारको निर्णय कार्यान्वयन हुन सकेको छैन ।

नाका खुल्न नसकेका कारण दैनिक सयौं मानिस गौर–बैरगनिया पैदल हिँडेर यात्रा गर्नु परिरहेको छ । चावपर्वमा भारतीय बजारमा किराना तथा अन्य उपभोग्य वस्तु खरिद गर्न ठुलो संख्यामा नेपाली जाने गर्दछन् ।

भारतबाट आउने यात्रीलाई सहजीकरणका लागि जिल्ला प्रशाशन कार्यालय रौतहटले नेपाल–भारत सीमामा पर्ने गौर भन्सार, लक्ष्मीपुर भन्सार, औरैया लगायत केही स्थानमा हेल्पडेस्क स्थापना गरे पनि एसएसबीको अवरोधका कारण औपचारिक रूपमा गौर, बंकुल लगायतका नाकाबाट भारतीय सवारी साधन रौतहट आउनसकेको छैन ।

गौर भन्सार कार्यालयका प्रमुख सुशिल शर्माले गत शुक्रबारदेखि भारतीय सवारी साधनको राजश्व संकलनका लागि निर्देशन आए पनि भारतीय सुरक्षाकर्मीले अवरोध गरेकाले सवारी साधनहरु आउन नसकेको स्वीकार गरे ।

सीमावर्ती सीतामढी जिल्लाका पदाधिकारी सुनिल कुमार यादवले हालसम्म नेपाल–भारत सीमा खुलाउने भारत सरकारको लिखित आदेश नआएकाले ढिलाइ भएको बताए ।

रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सीमा नाका खुलाउनेबारे भारतीय सुरक्षा अधिकारीसँग पटकपटक कुरा भएको र प्रक्रिया पनि सुरु भएकाले एक हप्ताभित्र गौर र बंकुल नाका खुला हुने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.