जनकपुरधाम,असोज १७ । भारतको खोप निर्माता कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले नेपाललाई पठाउन बाँकी रहेको १० लाख डोज कोभिशिल्ड खोप चाँडै पठाउने जानकारी गराएको स्वास्थ्य सेवा विभागअन्तर्गतकाे परिवार कल्याण महाशाखा खोप शाखा प्रमुख सागर दाहालले बताउनु भएको छ ।
उनले भनेका अनुसार , ‘कम्पनीले हामीलाई एसर्ट गरिसकेको छ । खोप चाँडै आइपुग्छ, सम्भवत: एक हप्तामा । हाम्रो अलिकति पेमेन्ट बाँकी रहेका कारण त्यसैको प्रकृयामा छौँ ।’नेपालले गएको फागुन ५ गते भारतसँग २० लाख डोज खोप खरिद गरेको थियो । खरिद सम्झौताअनुसार १० लाख डोज आइसके पनि १० लाख डोज भने आउन बाँकी नै थियो ।
तर भारतबाट समयमै खोप नआएपछि पहिलो डोज लगाएका १४ लाख नागरिक समयमै दोस्रो डोज लगाउन नपाउँदा प्रभावित भएका थिए ।नेपालले भारतसँग प्रतिडोज ४ डलरका दरले २० लाख डोज खोप खरीद गर्ने सम्झौता गरेको थियो ।
नेपालमा अहिलेसम्म कोभिशिल्ड अनुदानमा ११ लाख डोज, कोभ्याक्स सुविधामार्फत ३ लाख ४८ हजार र खरीद गरेको २० लाखमध्ये १० लाख गरी २४ लाख ४८ हजार डोज आइसकेको छ ।



