रौतहट,असोज ११ । रौतहटको तीन वटा विद्यालयमा आइतबार साइकल वितरण गरिएको छ । रौतहट निर्वाचन क्षेत्र नं ३ का तीन वटा माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत्त छात्राहरुलाई साइकल वितरण गरिएको हो । पुर्वमन्त्री एवं जनता समाजवादी पार्टीका केन्द्रिय कार्यकारीणी समिति सदस्य गोविन्द चौधरी र प्रदेश २ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले आइतवार छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरी एकै दिन तीन वटा सामुदायिक विद्यालयमा छात्रालाई साइकल वितरण गरेका छन् ।यस जसपाका केन्द्रिय सदस्य विन्देश्वर यादव, अर्का नेता योगेन्द्र यादव, सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक लगायत सर्वसाधारणको उपस्थिति रहको थियो ।
प्रदेश २ सरकारका लोकप्रिय कार्यक्रम बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत नेता चौधरी र राज्यमन्त्री यादवले जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नं. ३ माध्यमिक विद्यालय मेवा, सोही नगरपालिकाको वडा नं. ४ माध्यमिक विद्यालय टेङग्राहा एवं वडा नं ६ माध्यमिक विद्यालय पेटभर्वामा कक्षा ८ मा अध्ययनरत्त छात्राहरुलाई साइकल वितरण गरेका हुन् ।
कार्यक्रममा नेता चौधरी र राज्यमन्त्री यादवले संयुक्त रुपमा छात्राहरुलाई साइकल वितरण गरेका थिए । तीन ठाउँमा आयोजित साइकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष समेत रहेका राज्यमन्त्री यादवले जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा साइकल वितरण भइसकेको र अब केही विद्यालयमा मात्र साइकल वितरण गर्न बाँकी रहेको बताएका छन् ।
साइकल वितरण हुन बाँकी रहेको विद्यालयमा पनि विस्तारै वितरण गर्दै जाने बताउँदै राज्यमन्त्री यादवले साइकल उपलब्ध हुन नसकेका विद्यालयका प्रधानाध्यापकलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय जनकपुरमा सम्पर्क राख्न अनुरोध गरेका छन् ।



