जनकपुरधाम,असोज ११ । राैतहटकाे चन्द्रनिगाहपुरमा होटल तथा रेस्टुरेन्टमा यौन व्यवसाय बढ्दै गएको स्थानीयवासी बताउँछन् । चन्द्रनिगाहपुरस्थित केही नाम चलेका होटलका अलावा अधिकांश रेस्टुरेन्ट तथा होटलमा यौन व्यवसाय निर्वाधरुपमा चलिरहे पनि रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रहरी प्रशासनले ध्यान दिन सकेको छैन ।
ईलाका प्रहरी कार्यालयकै छेउछाउमा रहेका होटलमा समेत यौन व्यवसाय निर्वाध चलेको र स्थानीय व्यापारी, नेताहरु लगायत आसपासका जिल्लाबाट समेत पुरुषहरु चन्द्रनिगाहपुरका होटलमा यौनकर्मी महिलाको ग्राहक बन्ने गरेको स्थानीय पत्रकार कृष्ण तिवारी बताउँछन् ।
महिला सुरक्षा दबाब समूहकी अध्यक्ष तथा महिला नेतृ देवकी नेपालले चन्द्रनिगाहपुरका केही रेस्टुरेन्ट तथा होटेलमा यौन व्यवसाय चरम सीमामा पुगिसकेको बताइन् । ती होटलमा हुँदै आएको देह व्यापार रोक्न प्रहरीलाई पटकपटक खबर गर्दासमेत प्रहरीले बेवास्ता गरेको उनको भनाइ छ ।
महिला सशक्तिकरण चन्द्रनिगाहपुरकी अध्यक्ष गिता भारतीले महिलालाई देह व्यापारमा धकेलेर केही व्यापारीले पैसा कमाए पनि यसबाट पूरै समाज बदनाम हुने भएकाले त्यस्तो गतिविधि तत्काल नियन्त्रण गर्न आवाज उठाउनुपर्ने बताइन् ।
चन्द्रनिगाहपुरमा भइरहेको यौनजन्य क्रियाकलाप रोक्न स्थानीय प्रशासन तथा नियमनकारी निकायले तत्काल पहल नगरे हजारौं महिला सडक संघर्षमा उत्रने उनको चेतावनी छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी विनोद घिमिरेले चन्द्रनिगाहपुरमा देहव्यापार भइरहेकोबारे आफूलाई जानकारी नभएको बताए । उनले त्यस्तो गतिविधि जारी रहेको हो भने आफूले स्थानीय प्रहरीलाई तत्काल नियन्त्रणका लागि निर्देशन दिने उनको भनाइ छ ।



