हुलाकी न्यूज , जनकपुरधाम : धनुषाको शहिदनगर नगरपालिका २ का वडाध्यक्ष जैसी भिनवारले गरिब विपन्नका लागि आएको राहत कार्यकर्तालाई बाँडेको आरोप लागेको छ । वडाध्यक्ष भिनवारले मध्यरातमा आफ्ना पार्टीको कार्यकर्तालाई बाँडेको आरोप लागेको हो ।
गत वर्ष प्रदेश सरकारले साना तथा घरेलु उद्योग मार्फत पठाएको राहत आफ्न्त र पार्टीको कार्यकर्तालाई बाँडेको स्थानीय शैलेन्द्र चोरवारले आरोप लगाएका छन् । उनका अनुसार प्रदेश सरकारले वडा कार्यालयलाई दिएको दोस्रो चरणको राहत स्थानीय स्वास्थ्य चौकीमा राखिएको थियो ।
स्वास्थ्य चौकीको भवनमा राखिएको चामल, दाल, नुन, तेल, सावुन लगायतका राहत सामग्री शनिवार राति करिब १ बजे आफ्नो मान्छेलाई वडाध्यक्ष भिनवारले बाँडेको स्थानीयको आरोप छ । गरिब विपन्नलाई दिनुपर्ने राहत आफ्नो मान्छेलाई बाँडेपछि स्थानीयले वडाध्यक्ष भिनवारमाथि कारबाहीको माग गरेका छन् ।
स्थानीय काँग्रेसका यूवा नेता शैलेन्द्र चोरबारले वडाध्यक्ष भिनवारले डकैती गरेजस्तै रातारात राहत आफ्ना मान्छेलाई बाँडेर पावरको दुरुपयोग गरेको बताए । उनले भने, ‘गरिब विपन्नको राहत आफ्ना मान्छेलाई बाँडेर वडाध्यक्ष अपराध गरेका छन् । उनीमाथि कारबाही हुनुपर्छ ।’
यता, वडाध्यक्ष भिनवारले रातिमा राहत नबाँडेको दावी गरेका छन् । पहिले नै राहत बाँडिसकेको उनको भनाई छ ।



