जनकपुरधाम,असोज ७ । प्रदेश २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को संसदीय दलको बैठक बस्न लागेको छ । जनता समाजवादी पार्टी नेपालबाट विभाजित भएर गठन भएको लोसपाको संसदीय दलको बैठक आईतबार बस्न लागेको हो ।
लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरको उपस्थितिमा आइतबार दिउँसो २ बजे जनकपुरधाममा बस्ने बैठकबाट सर्वसम्मतरूपमा प्रदेश सभा सदस्य जितेन्द्र सोनललाई दलको नेतामा चयन गरिने स्रोतले जनाएको छ ।
तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल प्रदेश २ सरकारमा सहभागी हुँदा पनि संसदीय दलको नेता जितेन्द्र सोनल नै थिए ।
सरकारले राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि जसपाबाट छुट्टिएर महन्थ ठाकुरको नेतृत्वमा लोसपा नेपाल गठन गरिएको छ ।जसपाका ५५ प्रदेशसभा सदस्य मध्ये १६ जनाले लोसपा रोजिसकेका छन् ।



