हुलाकी न्यूज, जनकपुरधाम : प्रदेश २ मा खटाइएका घुमुवाका कारण धनुषासहित प्रदेशमा तस्करी मौलाएको छ ।

घुमुवाको रुपमा खटाइएका प्रहरी हवल्दार सुरेन्द्र ठाकुर र प्रहरी जवान विजय मुखिया तस्करसँग सेटिंग मिलाउन फल देखिएका छन् ।

यी दुबैको सेटिंगमा धनुषा जिल्लाका विभिन्न नाकाबाट खुल्लेआम तस्करी भइरहेको छ । २ वर्ष भन्दा लामो समयदेखि धनुषामा घुमुवा भएर बदनाम भएका ठाकुर र मुखिया शक्तिको आडमा धनुषामा आतंक मच्चाएको स्रोतले जनाएको छ ।

यी दुबैले धनुषाको विभिन्न नाकाबाट काम गर्ने व्यापारीलाई तस्करीको लाइन दिएर लाखौ लाख रकम उठाईरहेका छन ।

तस्करीको लाइन पाउने व्यापारीमा धनुषाको तारापटी बस्ने सुरेश साह नाम गरेका व्यापारीले धनुषाको महिनाथपुर, दुबही, इटहर्वा, तरही नाका बाट कपडा, स्याउ, मरिच, हार्डवेयर, सुर्ती, पान पराग जस्ता सामान ओहोरदोहोर गराइरहेका छन् । त्यस वापत महिनाको ४ लाख उनले प्रहरीलाई दिने गरेको श्रोतको भनाई छ ।

स्रोतका अनुसार धनुषाको दुबही गाउ बस्ने चाची नाम गरेका तस्करका छोरा राजीव महासेठले धनुषाको महिनाथपुर, दुबही नाकाबाट स्याउ, कपडा मटर, मरिच, रक्सी, तेल, किराना आइटम, लगायतको लाइन पाएका छन् । त्यस वापत उनले पनि रु ४ लाख तिरिरहेका छन् ।

नगराईन नगरपालिका लवटोली बस्ने सुल्तान मियाँले धनुषाको डेवडीहा, जमुनी नदी, महादेवपटी नाकाबाट पानपराग, सुपारी, किरानाको लाइन पाएवापत महिनाको रु १ लाख तिरिरहेका छन् । यो सबै रकमको सेटिङ मिलाउने ठाकुर र मुखिया नै हुन् ।

धनुषाको फूल्गमा बस्ने उमेश साहले धनुषाको लग्मा जटही, मुखियापट्टीबाट मोबाईल, मरिच, स्याउ, रक्सी, हुण्डीको पैसा, किराना आईटमको लाइन पाएवापत १ लाख दिइरहेका छन् भने यदुकुहा बस्ने कलाम मियाँले खजुरी, महुवा, बलहा, कढाल नाकाबाट कपडाको लाइन मिलाए वापत मोटो रकम ठाकुर र मुखियालाई बुझाइरहेका छन् ।

धनुषाकै नईम मियाँले तरही, धनौजी, बहूआर्वा नाकाबाट कपडा तथा लागूऔषधको करोबार गरिरहेका छन् । उनी लागूऔषध मुद्दामा फरार अपराधी भएपनि हवल्दार ठाकुरसँग मिलीजुली आर्थिक लोभमा पारेर काम गरिरहेका छन् ।

बर्तूलाह खातुन नाम गरेकी व्यापारी तरही, इटहर्वा, बहूआर्वा नाकाबाट कपडा, जुत्ता चप्पलको लाइन पाएकी छन् भने धर्मेन्द्र साह धनुषाको तरही, इटहर्वा, धनौजी नाकाबाट कपडाको लाइन पाएका छन् ।

यी व्यापारीहरु धनुषाको मुख्य व्यापारी हुन । हवल्दार ठाकुर र जवान मुखिया नामका घुमुवाले यी व्यापारीबाट एक लाख देखि चार लाख सम्म उठाईरहेको चर्चा धनुषामा छ ।

प्रदेश प्रहरी घुमुवाको तर्फबाट धनुषाको घुमुवाको रूपमा खटिएका बारा जिल्ला निवासी ठाकुरले असुली धन्दाबाट नै जनकपुरको ४ नम्बर वडामा पर्ने कटैया चौरीमा ४० लाख भन्दा माथिको जग्गा किनेर झण्डै ५० लाखको हाराहारीमा घर पनि बनाएका छन् ।

दुई नम्बर कमाइबाटै उनी जनकपुरको मुसहरी टोलमा पनि २५ लाख बराबरको ८ धुर जमिन किनेका छन् ।

प्रदेश नम्बर २ मा सबैभन्दा बढी घुमुवा राखिने गरेको छ ।नेपाल प्रहरी प्रदेश प्रमुख र जिल्लाका हाकिमहरूले घुमुवा राखी अतिरिक्त आम्दानी लिने गरेको आरोप लाग्दै आएको छ ।

घुमुवा प्रहरी हवल्दार ठाकुर र प्रहरी जवान मुखियाले काठमाडौंको हेडक्वार्टरमा बस्ने हाकिमलाई समेत नजराना दिदैं आएको उच्च स्रोतले दावी छ ।

अपराधी पत्ता लगाउनका लागि सिभिल ड्रेसमा सूचना संकलन गर्न खटाउने गरेका प्रहरीको काम बढी अपराधीसँग मिलेर रकम लेनदेन गरी अपराधीलाई संरक्षण दिने कार्यमा बढ्दै गएको छ । नेपाल प्रहरीमा अनौपचारिक पोशाकमा खटिनेलाई घुमुवाको संज्ञा दिने गरिएको छ ।

घुमुवा प्रहरी पछिल्ला दिनमा इन्चार्जका अतिरिक्त कमाइका माध्यम बन्दै गएका छन् ।

प्रहरी हवल्दार ठाकुरको दरबन्दी ईलाका प्रहरी कार्यालय कडरबोना सप्तरीमा छ भने जवान मुखियाको दरबन्दी जिल्ला प्रहरी कार्यालय सप्तरीमा छ । तथापी यी दुई जना दरबन्दीमा नगई पावरको भरमा प्रदेशमा घुमुवा बसेका छन् ।

लामो समय देखि उनीहरु प्रदेश २ को घुमुवा छन् । मुखिया २ वर्ष देखि प्रदेश घुमुवाको रुपमा काम गरिरहेका छन् । र, मुखिया तत्कालिन डीआईजी (हालका एआईजी)प्रधुम्न कार्कीको पालामा जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत हुँदा कपडा तस्करी घुस काण्डमा परी ६ महिनाको लागि निलम्बन समेत भएका बदनाम घुमुवा हुन् ।

हवल्दार ठाकुरले डिलिङ गर्नको लागि अरुको नाममा रहेको ९८१९६५५१३५ को एनसेलको सिम प्रयोग गरि व्यापारीसँग असुली धन्दा चलाएका छन् ।

तस्करीको अखडाका रूपमा चिनिने खासगरी दुई नम्बर प्रदेशमा अहिले पनि खुलेआम तस्करी भइरहेको छ ।

नेपाल प्रहरीको डिआइजी उमेश रन्जितकार केही दिन अगाडि मात्रै सरूवा भएर आएका छन् । अब डिआइजी र आइजिपीले कस्तो कारवाही गर्छन् त्यो हेर्न बांकी नै छ । अब डिआइजी रन्जितकारले उनलाई राख्छन् या हटाउंछन् ? त्यो हेर्न बांकी नै छ ।

विगत २ बर्षदेखि यी दुबै घुमुवाको रूपमा परिचालित छन् । प्रहरी संगठनमा ठाकुर र मुखिया जस्ता एकाध पात्र छन्, जो दर्जामा कनिष्ट भए पनि चलखेलका हिसाबले डीआइजीको भन्दा बढी सम्पत्ति कमाइसकेका छन् ।

तिनैमध्येमा पर्दछन्, ठाकुर र मुखिया । प्रदेश न २ मा डिआइजी रंजितकार आए पछि कयौ घुमुवा हटाईएका छन् ।

यता साना किराना पसलहरु संचालन गरेर आफ्नो जीवनयापन गरिरहेका व्यापारीहरुले घुमुवा प्रहरी ठाकुर र मुखियाबाट त्रसित बनेका छन् ।

व्यापारीहरु भन्छन, ‘जसले लाखौं लाखको समानहरु ल्याउने गर्छ, तिनीहरुलाई केहि नगर्ने र आफूहरु जसोतसो आफ्नो घर परिवारलाई चलाउने व्यक्तिलाई घुमुवा प्रहरीले जवरजस्ती समानहरु खेसेर धाकधम्की दिदैं आएका छन् ।’

1 COMMENT

  1. सर्लाही मा को छ र सुन्दै छु कि महिना को बयपारी सङ महिना को ८० हजार भन्दा बढी असुली हुदै छ एक जना बराबर ८० हजार भन्दा लगभग एउटा जिल्ला मा ५०/६० वटा बायपारी ठुलो ठुलो तस्कर हरु छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.