हुलाकी न्यूज ,जनकपुरधाम : प्रतिनिधिसभामा विचाराधीन नागरिकता विधेयक चाँडो पारित गर्न माग गर्दै नवलपरासीमा नागरिकता विहिन नपाली नागरिकहरुले प्रदर्शन गरेका छन् ।
जन्मसिद्ध नागरिकता पाएका अभिभावकका सन्तानलाई चाँडो वंशजका आधारमा नागरिकता दिलाउन विधेयक पारित गराउन माग गर्दै नागरिकता विहिन नपाली नागरिकहरुले आइतबार प्रदर्शन गरेका हुन् ।
नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउन गएका नागरिकता पीडित युवाहरूले ‘नागरिकता विधेयक पारित गर, हाम्रो पहिचान कायम गर’, ‘हामीलाई नागरिकता खोइ ?’ जस्ता प्लेकार्डसहित जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शन गरेका थिए ।
संविधानमा नागरिकतासम्बन्धी व्यवस्था गरिएको भए पनि राजनीतिक कारण देखाउँदै नागरिकता विधेयकलाई अलपत्र पार्न खोजिएको नागरिकता पीडित संघर्ष समिति संयोजक ई.इन्द्रजित साफी बताए ।
जन्मसिद्ध नागरिकता पाएका अभिभावकहरूका सन्तानले जन्मसिद्ध नागरिकता नपाउँदा संवैधानिक अधिकारबाट वञ्चित हुनुपर्दा शिक्षा, स्वास्थ्य, रोजगार मात्र नभएर गाँसबासको अधिकारसमेत हनन भएको उनीहरूले बताएका छन् ।
९ जेठ २०७८ मा राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन ‘नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८’ जारी गरेकी थिइन् ।
नागरिकताको लागि दवाव मुलक र्याली कार्यक्रममा हजारौं नागरिकता विहिन नागरिकहरुको सहभागिता रहेको अभियन्ता ई .इन्द्रजित साफीले बताए ।



