हुलाकी न्यूज ,जनकपुरधाम : वर्षासँगै आएको बाढीले पानीको बहाव परिवर्तन गरी लहान नगरपालिकाको विभिन्न स्थान र सखुवानन्कारकट्टी गाउँपालिका–४ सिमरहातर्फ कटान गर्न थालेपछि स्थानीयवासीमा त्रास बढेको हो ।
बलान नदीको बहाव परिवर्तन गरी पश्चिमबाट बग्ने खतरा बढेपछि पश्चिमतर्फका दर्जनौँ गाउँ डुबानमा पर्ने भन्दै स्थानीयवासी त्रसित बनेका हुन् भने अविरल वर्षाले बलान नदीमा बाढीको चाप बढेर पानीको बहाव बढेकाले खतराको सम्भावना बढ्दै गएको सखुवानन्कारकट्टी गाउँपालिका–४ सिमरहाका सुरेश यादवले बताउनुभयो ।
पश्चिमतर्फबाट बग्न धेरै समय नलाग्ने र नदीको मुखैमा रहेको सिमराहा, सखुवा, पोर्ताहा, परिहारपुर तिलेबोनालगायत गाउँ डुबानमा पर्ने जोखिमका कारण रातिमा जग्राम बस्नुपरेको स्थानीयवासीको भनाइ छ । तत्काल नदीको बहाव दक्षिणतर्फ गर्ने गरी वैकल्पिक व्यवस्था गर्न उनीहरुले माग गरेका छन् ।
बलान नदीले कटान गर्ने समस्या विगत लामो समयदेखि रहे पनि सङ्घीय र प्रदेश सरकारबाट समाधानको लागि कुनै पहल नहुँदा यस्तो अवस्था आएको सखुवानन्कारकट्टी गाँउपालिकाका अध्यक्ष केदारनाथ यादवले बताए । यसको दीर्घकालीन समाधानको लागि प्रदेश र सङ्घीय सरकारलाई पटक पटक पत्राचार गरे पनि समस्याको दीर्घकालीन समाधान हुन नसकेको उहाँको गुनासो छ ।
बलान नदीले लहान नगरपालिकाको–३, १७, १९ र २३ नं मा कटान गरिरहेको छ भने सखुवानन्कारकटी र भगवानपुर गाउँपालिकाका वडामासमेत तीव्र कटान गरिरहेकाले तत्काल रोकथामको व्यवस्था मिलाउनुपर्ने स्थानीयवासीले बताएका छन् । बलान नदीको बाढीले बर्सेनि लहान नगरपालिकाको २३, सखुवानन्कारकट्टी गाउँपालिकाको ४ र ५ तथा भगवानपुर गाउँपालिकाको २, ३, र ४ नं वडामा सयौँ बिघा जमीन कटान गरी किसानलाई सुकुम्वासी बनाउँदै आएका छन् । रासस



