हुलाकी न्यूज, जनकपुरधाम : जनकपुरको पुलचोक स्थित आज बिहानैदेखि युवाहरुले चक्काजाम गरेको छ । चक्काजामको कारण सवारी साधन जकथक परेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ स्थितको पुलचोकदेखि कोल्डस्टोरसम्मको बाटो अति जीर्ण भएको कारण पैदल आवतजावत गर्न समेत कठिनाई भएको भन्दै स्थानीय युवाहरुले चक्कजाम गरेका छन् ।
जनकपुरदेखि शहिदपथ (यदुकूहा) जाने सो बाटोमा पुलचोकको करिब २०० मिटरको बाटोमा सवारी साधन आवतजावत गर्न कठिनाई भएको छ । सडकमा हिलोका साथै खाल्डो र सो खाल्डोमा कम्मरसम्मको पानी जमेपछि मोटरसाईकल, चारचक्केलाई समेत आवतजावत गर्न कठिनाई भएको छ ।
एक साताअघि पुलचोक युवा क्लब र स्थानीय युवाहरुको एक समूहले जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत ज्ञापन पत्र बुझाउँदै ७ दिने अल्टिमेटम दिएका थिए । तर, एक साता वितिसक्दा पनि कुनै चासो नदेखाएको भन्दै बाध्य भएर चक्काजाम गरेको हो ।
जनकपुरधाम उपमहानगरपालिका वा हुलाकी सडक, सडक विभागले समेत कुनै चासो नदेखाएको भन्दै चक्काजाम गर्न बाध्य भएको पुलचोक युवा क्लबका उपाध्यक्ष एवम् अगुवा किशन साहले जानकारी दिए । उनका अनुसार, एक साताअघि जिल्ला प्रशासन कार्यालय धनुषा सहित अन्य विभिन्न सरोकारबाला निकायहरुमा ज्ञापन बुझाएपनि बेवास्ता गरेको भन्दै मजबुर भएर चक्काजाम गरेको उनले बताए । चक्काजामका कारण जनकपुरबाट सो सडकमा निस्कने हजारौँ सवारी साधन जकथक परेका छन् भने सो पथ भएर जनकपुर छिर्ने हजारौ सवारी साधन र यात्रुहरु अलपत्र परेका छन् । उनीहरुले बाँसको ढाठ लगाएर सडक जाम गरेको हो ।
अहिले हुलाकी सडकमा देउरी परवाहास्थित सडकमै अधिक पानी जमेको कारण सवारी साधनको आवतजावत रोकिएको हो भने धनुषाको पूर्वी क्षेत्रबाट जनकपुरसम्म आउनको लागि सानो दुरीमा शहिदपथ नै वैकल्पिक बाटो भएपनि ठेकेदारले सडक नबनाउँदा बिजोग भएको छ ।
अगुवा किसन साहका अनुसार, जबसम्म प्रशासन र सरोकारबालाले दुई दिनभित्र सडक बनाउने प्रतिबद्धता र लिखित सम्झौता (सहमति) नगरेसम्म चक्काजाम नखोल्ने अडानमा रहेका छन् । चक्काजामको क्रममा एम्बुलेन्स, अस्पताल जाने विरामीलाई भने जान दिएका छन् भने साधारण कार्यको लागि सो बाटो भएर जाने सर्वसाधारणलाई उनीहरुले रोकेका छन् । मिथिला बिहारी मन्दिर सँचालक समिति र पुलचोक युवा क्लबले सँयुक्त रुपमा चक्काजाम गरेको हो ।



