हुलाकी न्यूज,जनकपुरधाम : महोत्तरी र सप्तरीमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। घटनामा अन्य तीन जना घाइते भएको छन्।

पूर्वपश्चिम राजमार्गमा पर्ने महोत्तरीको लक्ष्मीनिँयामा पेट्रोल ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवाको मृत्यु भएको प्रहरीले जनाएको छ।

सोमबार राति ना ३ ख ८८०० नम्बरको तेल ट्यांकरले ज ४ प २७०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा धनुषाको मिथिला नगरपालिका–३ का ३३ वर्षीय धनपैत महतोको मृत्यु भएको हो।

मोटरसाइकलको पछाडि बसेका सर्लाहीको हरिवन नगरपालिकाको अत्रौलीका १३ वर्षीय नवीन महतो दुर्घटनामा गम्भीर घाइते भएका इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ।

राति करिब १० बजे महतो चढेको मोटरसाइकललाई ट्यांकरले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई तत्काल उद्धार गरी उपचारको लागि बर्दिवास लगिएको थियो।

बर्दिबासको शुभस्वस्तिक अस्पताल पुर्याउनासाथ चिकित्सकले धनपैतलाई मृत घोषणा गरेका इप्रका बर्दिवासका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। अर्का घाइते नवीनलाई थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ।

मृतक महतोको शव परीक्षणका लागि मंगलबार बिहान प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ। तेल ट्यङ्कर, त्यसका चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा राखेको छ।

यसैबीच पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङगा नगरपालिकास्थित कदमहामा मंगलबार बिहान भएको सवारी दुर्घटनामा परी एक बालिकाको मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ६९५६ नम्बर तेल ट्यांकर सुरुङ्गा नगरपालिकास्थित दिलीप एण्ड ब्रदर्श पेट्रोलपम्प नजिक रोकिराखेको अवस्थामा सोही दिशातर्फ जाँदै गरेको ना८ख ३४२२ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो।

उक्त दुर्घटनामा ट्रक चालक सुनसरी रामधुनि इकराही नपा–४ बस्ने आशाराम चौधरीकी नौ वर्षीय छोरी मेनुका चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा ट्रक चालक ४५ वर्षीय आशाराम चौधरी, निजकी ४० वर्षीया श्रीमती चन्द्रकाला थारुनी र निजका छोरा आशिष चौधरी घाइते भएका छन्।

उनीहरूलाई उपचारका लागि सप्तऋषि अस्पताल लहान सिरहा पठाइएको छ भने ट्रक र टयाङ्करलाई प्रहरीले नियन्त्रणमा राखेको छ । टयाङ्कर चालक तत्काल फरार भएकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.