हुलाकी न्यूज,जनकपुरधाम : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा दशैँ अगावै हुन सक्ने जनाएका छन् ।

कक्षा १२ को परीक्षाको तयारीमा रहेका अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाउने वातावरण बनेपछि अब दशैँ अगावै परीक्षा हुन सक्ने अवस्था सिर्जना भएको जनाएको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले स्वीकृति दिएमा आफूहरू दशैँ अगावै परीक्षा गर्न सक्ने अवस्थामा रहेको ११ र १२ हेर्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । सीसीएमसीसित अनुमति लिएपछि १५ दिनको अग्रिम सूचना दिएर विद्यार्थीका लागि परीक्षाका बारेमा सूचित गरिने उहाँले बताउनुभयो ।

राजधानी र सहरी क्षेत्रमा अध्ययन गर्ने धेरै परीक्षार्थीहरू परीक्षा रोकिएपछि गाउँतिर लागेकाले उनीहरूलाई परीक्षाका बारेमा अग्रिम सूचना दिनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

सीसीएमसीले अनुमति दिएमा स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्दै परीक्षा सञ्चालन गर्न आफूहरूलाई कुनै समस्या नभएको परीक्षा नियन्त्रक शर्माले स्पष्ट गर्नुभयो । यसअघि बोर्डले प्रवेशपत्रका आधारमा कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीलाई खोप उपलब्ध गराइदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आग्रह गरे पछि सरकारले यसै साता मात्रै कोरोना भाइरसविरुद्धको खोप कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीलाई उपलब्ध गराएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.