हुलाकी न्यूज ,जनकपुरधाम : जनता समाजवादी पार्टी(जसपा) र नेकपा एमाले विभाजन भएसँगै प्रदेश सभा नम्बर २ को व्यय बढेको छ । प्रदेशमा जसपा, एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्र रहेकोमा अब दुईवटा दल थपिने भएकोछ । महन्थ ठाकुरको अध्यक्षतामा बिभाजित जनता समाजवादी पार्टी(जसपा) लोकतान्त्रिक र माधवकुमार नेपालको अध्यक्षतामा एमाले समाजवादी पार्टीपनि प्रदेश २ मा थपिने भएको छ ।
दलका नेता र प्रमुख सचेतकलाइ प्रदेश सभाले उपलब्ध गराउने व्यय भार बढ्ने प्रदेश सभासचिव रञ्जित कुमार यादवले जनाएका छन् । दल दर्ता भएको जानकारी प्राप्त भएपछि सेवा सुविधा उपलब्ध गराइने यादवले बताए । ‘निर्वाचन आयोगले दलको मान्यता दिएको प्रमाणसहित प्रदेश सभामा दावी आएपछि सुविधा दिइनेछ’ उनले भने, नेकपा विभाजन भएदेखि हाल सम्म ३ वटा दल बढने छ ।
दल बिभाजनसँगै प्रदेश २ मा जसपाका अध्यक्ष उपेन्द्र यादवको पक्षमा ४० जना सभासद पुगेका छन् ।यादव समाजवादी पार्टीको अध्यक्ष रहेको बेला सो संख्या ३० थियो ।पूर्व राजपाबाट १० जना यादव नेतृत्वको जसपामा नै रहने भएपछि सो संख्या बढेको छ । प्रदेश सभामा नेपाली काँग्रेस बाहेकका सबै दल बिभाजित भएका छन् ।
दल बिभाजनसँगै यादव नेतृत्वको जसपापछि दोस्रो ठूलो दल काँग्रेस नै बनेको छ । पूर्व समाजवादी पार्टीका ३० जना सभासदमा पूर्व राजपाबाट १० जना थप भएका छन् ।थपिएका सभासदहरुमा उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय, समाजिक विकास मन्त्री नवलकिसोर साह, पूर्व राज्यमन्त्री सुरेश मण्डल, रानी शर्मा, डा.रिना यादव, अञ्जु यादव, निरा साह, बिन्देश्वर यादव(बिक्की) र मनिष सुमन रहेका छन् ।उनीहरु पूर्व राजपाबाट सभासद बनेका हुन् । प्रदेश सभामुख सरोज कुमार यादव दलको सदस्य नरहेकाले उनको गणनापनि यादव पक्षमै गरिएकोछ ।
सभामुखबाट हटेपछि उनीपनि मुल जसपामा रहने बताइएको छ ।ठाकुर पक्षमा हाल १४ जना सभासद रहेको देखिन्छ ।प्रदेश सभाको बैठक प्रारम्भ भएपछि अझै केहि सभासदहरु मुल जसपामा थपिने भूमी व्यवस्था,कृषी तथा सहकारी राज्यमन्त्री योगेन्द्रले दावी गरे । मातृपार्टीलाई छाडेर जानेको संख्या न्युन रहने उनले बताए ।
जसपामा संस्थापन पक्ष अत्यधिक बलियो भएको छ ।तर एमालेमा भने विभाजनले संस्थापन पक्ष नै अत्यन्त कमजोर भएको छ ।एमालेका २१ जना सभासद मध्ये संस्थापन पक्ष (एमाले)मा ८ जना मात्र रहेका छन् ।१३ जना सभासद माधव कुमार नेपाल नेतृत्वको एमाले समाजवादीमा १३ जना रहेका छन् । प्रदेश सभा २ मा १ सय ७ सभासद रहेकोमा माओवादी केन्द्रले २ जना हटाएपछि हाल १सय ५ जना कायम छन् ।त्यस मध्ये जसपाको ४० जना रहेका छन् ।
काँग्रेसका २२ र एमाले(नेपाल) १३, एमाले (ओली)८ जना रहेका छन् ।माओवादी केन्द्रका ७ र जसपा (लोकतान्त्रिक)का १४, स्वतन्त्र १ जना रहेका छन् । स्रोतहरुका अनुसार एमाले समाजवादी दलको मान्यता पाउना साथ प्रदेश २को सरकारमा सहभागि हुनेछ ।संघीय सरकारमा समेत नेपाल समुह सहभागि हुने निश्चित नै छ ।नेपाल समुहले प्रदेश प्रमुखको भाग बाग्मती प्रदेशमा हात पारेकोछ ।
एमाले बाहेकको सरकार रहेको सबै प्रदेशमा गठबन्धनका सबै दलको सहभागिता रहनेछ ।सुदुरपश्चिम, गण्डकी, कर्णाली, लुम्बिनी र प्रदेश २ मा गठबन्धनको सरकार हुनेछ ।बाग्मती र प्रदेश १ मा पनि गठबन्धन सरकार बन्ने करिब निश्चित छ । नेपाल नेतृत्वमा रहेका सभासदहरु बाग्मती र प्रदेश १ बाट हटेसँगै सरकार अल्पमतमा पर्नेछ । बाग्मती प्रदेशमा सरकार ढाल्न सहयोगी भूमिका निर्वाह गर्न नै नेपालका सहयोगी यादव शर्मालाई प्रदेश प्रमुख बनाइएकोछ ।