हुलाकी न्यूज,जनकपुरधाम : जिल्ला प्रशासन कार्यालय धनुषाबाट तीनजना बिचौलिया पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ बस्ने ३६ वर्षीय गुड्डु पुर्वे, वडा नम्बर–१० बस्ने ५० वर्षीय विजय कुमार साह र वडा नम्बर–१ बस्ने ३५ वर्षीय विजय मण्डल रहेका छन् ।
तीनैजनाले जिल्ला प्रशासनको गेटअगाडि कार्यालयमा कामकाज गराउन आउने सेवाग्राहीलाई छिटोछरितो काम गराइदिने भन्दै रकम माग गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका हुन्।
सेवाग्राहीलाई प्रभावमा पारी बिचौलियाहरुले रकम माग्ने काम गरिरहेको खबर आएपछि जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी सो स्थानमा खटिई गोप्य रुपमा बुझ्दै जाँदा सोही क्रममा उनीहरुलाई पक्राउ गरिएको उनले बताउनुभएको छ।
पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखी थप अनुसन्धान थालिएको धनुषा प्रहरीले जनाएको छ ।