हुलाकी न्यूज,जनकपुरधाम : राष्ट्रिय जनता पार्टीबाट जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख बनेका लालकिशोर साहले आफ्नो राजनीतिक कित्ता परिवर्तन गरेका छन् । जनता समाजवादी पार्टीको उपेन्द्र पक्षको केन्द्रीय समिति बैठकमा सहभागी भएको देखिएको छ ।
स्रोतका अनुसार अब उनी जसपाको उपेन्द्र समूहबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि दोस्रो पटक टिकट लिन सो समूहमा प्रवेश गरेका हुन् ।
राजेन्द्र महतोनिकट साह तत्कालीन राजपाबाट जनकपुरको मेयरमा चुनाव लडेका थिए । जनकपुरमा महन्थ ठाकुर पक्षले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामासमेत मेयर साह सहभागी भएका थिएनन् । उनी केही दिनदेखि असन्तुष्ट रहेको बुझिएको छ ।
निर्वाचन आयोगले उपेन्द्र समूहलाई आधिकारिकता दिएपछि पछिल्लो समय जसपाका नेता कार्यकर्ताहरू ध्रुवीकृत भएको देखिन्छ ।जसपाको महन्थ समूहले आयोजना गर्ने अधिकांश कार्यक्रममा नेताहरू सहभागी हुन छोडेका छन् ।मंगलबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकबाट सहभागी हुने-नहुने केन्द्रीय सदस्यहरूको परीक्षण गरिने जसपा प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिएका हुन्। उनले पार्टी संगठन सुदृढीकरण, जनजागरण तथा अभिमूखीकरण अभियानको नारा दिएर सुरू भएको केन्द्रीय समिति बैठक बुधबारसम्म चल्ने बताएका छन्।