हुलाकी न्यूज,जनकपुरधाम : महामारीका कारण करिब ४ महिनादेखि बन्द रहेका शैक्षिक संस्था सञ्चालन गर्न सरोकारवालाहरुले माग गरेका छन् ।

कोरोना भाइरसको दोस्रो लहर सुरु भएयता जनकपुरधामका शैक्षिक संस्था बन्द रहेका छन् । अनलाइनको माध्यमबाट शैक्षिक कार्यक्रम प्रभावित नभएको भन्दै कोरोना संक्रमण घटेकोले भौतिक रुपमा कक्षा सञ्चालन गर्नुपर्ने एन प्याबसन धनुषाका निवर्तमान सचिव डीके चौधरीले जानकारी दिएका हुन्। उनले कोरोना संक्रमणका कारण शैक्षिक संस्था बन्द रहेकोले विद्यार्थीहरुको भविष्य अन्योलमा परेको भन्दै जनकपुरधाममा कोरोना संक्रमण घटेकोले भौतिक रुपमा पठनपाठन सञ्चालन हुनुपर्ने बताएका छन् ।

उनका अनुसार जानकी विद्या मन्दिरका सञ्चालकसमेत रहेका चौधरीले स्थानीय सरकारको नेतृत्वमा सुरक्षित तरिकाले विद्यालय खोल्नुपर्ने, यसमा प्रदेश र केन्द्रीय सरकारले पनि सहयोग गर्नुपर्ने छ । वीरगञ्जमा शैक्षिक संस्था खुलिसकेकाले अब सुरक्षाको मापदण्ड अपनाउँदै यहाँको पनि विद्यालयहरु खुल्नुपर्ने चौधरीको माग छ ।

सरकारी निर्णयको अवज्ञा गर्दै कतिपय शैक्षिक संस्थाहरु सञ्चालनमा रहेकोले सबैका लागि समान नियम कानुन लागू हुनुपर्ने उनको धारणा छ । एन प्याब्सन धनुषाका जनकपुरधाम नगरअध्यक्ष दिपक ठाकुरले स्थानीय सरकारले विद्यालय सञ्चालनप्रति उदासिनता देखाएको गुनासो गरेका हुन्। कोरोना संक्रमण दर घटेको र धनुषामा २०/२५ जना मात्र कोरोनाका सक्रिय संक्रमित रहेको अवस्थामा जनकपुरधाम उपमहानगरपालिकाले भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने निर्णय गर्न नसक्नु दुर्भाग्यपूर्ण रहेको उनले बताएका छन्।

यता धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले नेपाल सरकारले नै विद्यालय बन्द गर्ने निर्णय गरेकोले सरकारले नै खोल्ने अनुमति नदिएसम्म आफूहरु विद्यालय सञ्चालनको अनुमति नदिने बताए । जनस्तरबाट विद्यालय खोल्न माग आइरहे पनि केन्द्रकै निर्णयबाट विद्यालय खुल्ने सीडीओ बास्तोलाले बताएका छन्।सीडीओ बास्तोलाले तेस्रो लहरको जोखिमसमेत रहेकाले विद्यालय खोल्न हतार नगर्न आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.