हुलाकी न्यूज , सर्लाही : भूमि सुधार तथा मालपोत कार्यालय मलंगवाले कर्मचारी उपस्थित भए पनि आइतबारदेखि सेवा अनिश्चितकालका लागि बन्द गरेको छ ।
कर्मचारी अस्वस्थ भएको भन्दै कार्यालयले सेवा बन्द गरेको हो ।तर, प्रशासनले बुधबार छड्के निरीक्षण गर्दा भने तीन जनाबाहेक सबै कर्मचारी हाजिर भएको पाइएको छ ।
मालपोतका प्रमुख पनिलाल यादवसहित तीन कर्मचारी पूर्वस्वीकृति नै नलिई अनुपस्थित थिए । कर्मचारी उपस्थित हुँदाहुँदै सेवा रोक्नु गम्भीर लापरबाही भन्दै प्रशासनले तत्काल सेवा सुरु गर्न निर्देशन दिएको थियो ।
तर बिहीबार र शुक्रबार पनि कार्यालय खुला गरिएन । कर्मचारी उपस्थित हुँदाहुँदै सेवाग्राहीको काम रोक्दै आएको गुनासो आएपछि जिल्ला प्रशासनको टोलीले अनुगमन गरेको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए । ‘निरीक्षणमा पुग्दा अधिकांश कर्मचारी कार्यालयमै भेटिए,’ उनले भने ।
मालपोतले साउन २२ गते सूचना टाँसेर जनशक्तिको अभाव र अत्यधिक भीडभाडले कोरोना संक्रमण फैलिने खतरा रहेको भन्दै २४ गतेदेखि अनिश्चितकालका लागि जग्गापास, अंशबन्डा लगायतका सेवा बन्द गरेको थियो । कार्यालयमै फेला परेका कर्मचारीले मालपोतको सूचना देखाउँदै सेवाग्राहीलाई फर्काइरहेका थिए । ‘लेखनदासमार्फत घूस रकम बुझाएकाको कहिल्यै काम रोकिएको छैन, अन्यका लागि कर्मचारी अस्वस्थ भनेर सूचना देखाउने गरेका छन्,’ मलंगवाका एक सेवाग्राहीले भने, ‘सेवाग्राहीमाथि दबाब बनाउन बेला–बेला मालपोतले यस्तो सूचना निकाल्ने गरेको छ ।’ उनका अनुसार यसअघि पनि पटक–पटक कर्मचारी अस्वस्थ भएको भन्दै सेवामा रोक लगाइएको थियो ।
कर्मचारीहरू कार्यालयमा नियमित हाजिर हुनु तर सेवा प्रवाह नगर्नु गम्भीर लापरबाही भएको प्रजिअ महतोले बताए । उनले जिल्लामा संक्रमण न्यून भएकाले आलोपालो वा टोकन प्रणाली अपनाई मालपोतबाट सेवा प्रवाह गर्न निर्देशन दिएको बताए । ‘निर्देशन पालना नभए विभागीय कारबाही गर्छु,’ उनले भने । मालपोत कार्यालयका प्रमुख यादवले गत शुक्रबार अधिकांश कर्मचारी बिरामी भएकाले विभागको सहमतिमा सेवा बन्द गरिएको जानकारी दिए ।
‘म आफैं पनि बिरामी भएर उपचारका लागि काठमाडौं आएको छु, अन्य कर्मचारीमा पनि कोभिडसँग मिल्ने लक्षण देखिएको छ,’ उनले भने, ‘अब बिस्तारै सबै कर्मचारी निको भइसकेका छन्, आइतबारबाट सेवा सुरु गर्छौं ।’ कान्तिपुरमा लेखिएको छ ।