हुलाकी न्यूज,जनकपुरधाम: सिरहास्थित मारुती सिमेन्टले कब्जा गरेको वन बुटेको जग्गा फिर्ता हुनुपर्नेलगायत विभिन्न पाँचबुँदे माग राख्दै अभियानीहरु जनकपुरधामस्थित जनकचोकमा आमरण अनशनमा बसेका हुन् । चुरे तथा वन जंगल संरक्षण अभियानीहरु आमरण अनशनमा बसेका हुन्
यसअघि पनि प्रदेश सरकारलाई ध्यानाकर्षण गराउँदै पटक–पटक ज्ञापनपत्र बुझाउँदासमेत कुनै सुनुवाइ नभएपछि बाध्य भएर आफूहरु आमरण अनशनमा बसेको चुरे तथा वन जंगल संरक्षण अभियानका केन्द्रीय सहसंयोजक रानी रायले बताइन् । अभियानका केन्द्रीय सह–संयोजक रानी राय र धनुषा संयोजक अमन यादव अनशनमा बसेका छन् ।
चुरे अभियन्तामाथि लगाइएको झुटा मुद्दा खारेज हुनुपर्ने, वन नियमावली २०५१ को दफा २२ लाई मिचेर डिभिजन वन कार्यालय सिरहाका प्रमुख सुभाष दासले आर्थिक कार्यक्रम सञ्चालन गरेको र सो कुन आधारमा गरेको हो त्यसको छानबिन हुनुपर्ने, गत आर्थिक वर्षमा डिभिजन वन कार्यालय सिरहाले कोटेसनमार्फत खरिद गरेको फलफूल बिरुवा खरिदमा गरेको अनियमितताको छानबिन हुनुपर्ने र आर्थिक वर्ष २०७६–७७ र २०७७–७८ मा डिभिजन वन कार्यालय सिरहाले गरेको कार्यमाथि छानबिन हुनुपर्नेलगायतका माग राख्दै उनीहरुले आमरण अनशन सुरु गरेका छन् ।