हुलाकी न्यूज, जनकपुरधाम :जनकपुरमा एसिड आक्रमणमा परेकी २६ वर्षीया आरती साहको पतिलाई जिल्ला अदालत धनुषाले दोषी ठहर गरेको छ भने एसिड बेच्ने व्यापारीलाई सफाइ दिएको छ ।

सोमबार जिल्ला अदालत धनुषाको इजलास नम्बर–३ का न्यायाधिश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले आरतीका पति सञ्जिव साहलाई दोषी ठहर गरेको हो ।

सोही घटनामा संलग्न रहेका एसिड बेच्ने व्यापारी नागेन्द्र साहलाई सफाइ दिइएको जिल्ला अदालत धनुषाका सूचना अधिकारी गंगा कुमार मिश्रले जानकारी दिए । न्यायाधीश शिवाकोटीले कसुर ठहर सजाय निर्धारणको लागि पेश गर्ने भनि आदेश दिएको उनले बताए ।

गत कात्तिक १९ गते दिपावलीका दिन जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ स्थित ससुरालीमा गएर सञ्जिवले पत्नी आरती साह र छोरी रियामाथि एसिड प्रहार गरेका थिए ।

घटना पश्चात सरकारी वकिलको कार्यालयले जिल्ला अदालत धनुषामा सञ्जिव र एसिड बेच्ने व्यापारी नागेन्द्र साहमाथि १५ वर्ष ६ महिनाको सजाय माग गर्दै अभियोग पत्र दर्ता गराएका थिए । दुबै जनाबिरुद्ध अंगभंग, कुरुप र एकीकृत कसुर गरी ३ वटा कसुरको सजायका लागि माग दावी गरिएको थियो ।

यस मुद्दामा यसअघि ६ वटा पेशी भएपनि विभिन्न कारणले स्थगित गरिएको थियो । जिल्ला अदालत धनुषाका सूचना अधिकारी मिश्रले अब सरकारी वकिल तथा कानून व्यवसायीबाट प्रतिवेदन आइसकेपछि सञ्जिवलाई सजायको लागि पेशी हुने बताए ।

एसिड आक्रमणबाट आरतीको दाहिने आँखा गुम्नुका साथै घाँटी, छातीलगायतका अंगहरु कुरुप बनेका छन् । एसिड आक्रमणमा परी उनकी छोरी रियाको दाहिने हात र टाउकोमा खत बसेको छ ।

घरायसी विवादका कारण माइतमा बस्दै आएका कारण सञ्जिवले आरतीमाथि एसिड प्रहार गरेको आरतीकी आमा सुनिताले बताइन् । केही वर्षअघि पनि सञ्जिवले मट्टीतेल खन्याएर आगो लगाई आरतीलाई मार्ने प्रयास गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.