हुलाकी न्यूज, जनकपुरधाम : प्रदेश २ को धनुषा जिल्लास्थित विदेह नगरपालिकाका नगर प्रमुख बेचन दासले आफ्नो कार्यकक्षभित्रै कार्यालय सहयोगीसँग खुट्टा मालिस गराउँदै गरेको फोटो सार्वजनिक भएको कुराले प्रष्ट बुझ्न सकिन्छ।
मेयर दासले आफ्नै नगरपालिकामा काम गर्ने कार्यालय सहयोगी करण दाससँग आफ्नो कार्यकक्षमा सोफामा आरामले बसेर खुट्टा मालिस गराइरहेको तस्बिर समाजिक सञ्जालमा हालिएपछि उनको चौतर्फी आलोचना भएको छ ।
कोठाको भित्रबाट चुकुल लगाएर मेयर दासले कार्यालय सहयोगीसँग खुट्टा मालिस गराइरहेको अवस्थामा उनकै नजिकका एक व्यक्तिले सो तस्बिर झ्यालबाट खिचेको बताइएको छ ।
यससम्बन्धमा मेयर दासले आफूलाई सञ्चो नभएपछि एकछिनका लागि कार्यालय सहयोगीसँग खुट्टा मालिस गराउन लगाएको बताएका छन् । उनले कार्यालय सहयोगी करण आफ्नो भाइ रहेकोले यसलाई आफूले सामान्य रुपमा लिएको प्रतिक्रिया दिएका छन्। मेयर दासमाथि यसअघि पनि गाउँघरको झगडा तथा अन्य कुनै मुद्दा मामिलामा आफू अनुकुल नभए पीडितलाई नै कुट्न लगाउने, आफ्नै नगरबासीलाई दुःख दिने गरेको लगायतका थुप्रै आरोपहरू रहेका छन् ।
विदेह नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सञ्जीव साह र मेयर बेचन दासले मिलेर बिनायोजना करोडौँ कामहरु कागजमै गरेर रकम बाँडफाँड समेत गरेको आरोप रहेको छ ।