हुलाकी न्यूज, जनकपुरधाम : धनुषाधाममा जैविक मलको उद्योग सञ्चालन हुँदैछ । धनुषाको धनुषाधाम नगरपालिकामा आरोह फटिलाईजर प्रा.लि.ले २८ करोडको लगानीमा जैविक मलको उद्योग स्थापना गर्न लागेका हुन्।
आउँदो वैशाखसम्म उत्पादन हुने उक्त जैविक मल उद्योगमा शनिबार एक कार्यक्रम बीच प्रदेश २ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह र संघीय सरकारका कृषि तथा पशुपंक्षी मन्त्रालयका योगेन्द्र कुमार कार्कीले संयुक्त रुपमा शिलान्यास गरेका छन्। शिलान्यास कार्यक्रममा मन्त्री साहले आरोह फर्टिलाईज प्रालिले स्थापना गर्न लागेको जैविक मल उद्योग प्रदेश २ को मात्र नभई नेपालकै लागि गौरवको कुरा रहेको बताउनुभएको छ।
वर्षेनी हुने मल अभावले नेपाली किसानले चाहे जति उत्पादन गर्न नसकिरहेको अवस्थामा प्रदेश २ का संचालन हुन लागेको जैविक मल उद्योगले त्यस्ता समस्यालाई धेरै हद सम्म समाधान गर्न सक्ने मन्त्री साहले बताएका छन् ।
नेपाललाई कृषि प्रधान देश भनिन्छ । तर वास्तवमा यो कृषि प्रधान देश नै होईन, यो त किसान प्रधान देश हो । यहाँ ६० प्रतिशत भन्दा बढि व्यक्तिको आय कृषिमा आधारित छन् । तरपनि सरकारको यसमा लगानी छैन ।’ प्रदेश सरकारले प्रदेशलाई व्यवहारमा कृषि प्रधान बनाउन लागेको मन्त्री साहले दावी गरेका हुन् ।
धनुषामा पहिलो पटक नेपालमा यतिको लगानीमा जैविक मल सम्बन्धि उद्योग संचालन हुन लागेकोले नेपाली किसानको लागि खुसीको सन्देश रहेको कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव योगेन्द्र कुमार कार्कीले बताउनुभएको छ । सुरुवाती अवस्थामै २८ करोडको लागतमा निर्माण हुन लागेको उक्त जैविक मल उद्योगले नेपालका कृषकहरुको लागि सुखद खबर रहेको बताएका छन्।
त्यसैगरि, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. सम्झना काफ्लेले प्रदेश सरकारले जैविक मल उद्योगमा आवश्यकता अनुसार सहयोग गर्न तयार रहेको बताईन् ।‘नेपालमा वार्षिक साढे ७ लाख मेट्रिक टन जैविक मलको आवश्यकता छ’, उनले भने, ‘तर आफुहरुले तत्काल वार्षिक रुपमा ७ देखि ८ सय मेट्रिक टन उत्पादन गर्ने योजनामा छौ । संघीय र प्रदेश सरकारबाट सहयोग भएको खण्डमा उत्पादन बढाउछौ ।
अमेरिकाको वाईमिक्स कम्पनी र भारतको व्हाईसोड ब्योनेट कम्पनीको प्रविधिक सहयोगमा आरोह फटिलाईजरले निर्माण गर्ने जैविक मलले खेतको उर्वराशक्ति बढाउनुको साथै माटोमा रहेको विषादीलाई समेत हटाउने आरोह फर्टिलाईजर प्रालिका अध्यक्ष शैलेन्द्र शमशेर राणाले बताए ।