हुलाकी न्यूज, जनकपुरधाम : सर्लाहीको चन्द्रनगर गाउँपालिका ६ मा बाढीले गाउँमा झण्डै दुई सय मिटर सडक बगाउनुको साथै ४५ विघा जति धानखेतमासमेत क्षति गरेको स्थानीय लोकेन्द्र मुखियाले बताएका छन् ।

चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले आफ्नो निहित स्वार्थ पुर्ती गर्न स्थानीय खोला र खोल्सीको प्राकृतिक बहाब रोकिने गरी निर्माण गरेको पोखरी र सडकको कारण गाउँमा बाढीले ठूलो क्षति गरेको आरोप स्थानीयले लगाएका छन् ।

गत वर्ष स्थानीय पाँचवटा खोलाको प्राकृतिक वहाब रोकिनेगरी गाउँपालिकाले पोखरी निर्माण गरेको थियो। त्यो पोखरी र त्यहाँ निर्माण गरिएका तीनवटा सडकको कारण पानीको प्राकृतिक बहाब रोकिँदा चन्द्रनगर ६ का तीनवटा गाउँ र छिमेकी ब्रम्हपुरी गाउँपालिकामा समेत बाढीले क्षति गरेको मुखियाको भनाइ छ ।

‘पुल र कल्भर्टबिनै ८र९ फिट अग्ला सडक बनाउँदा पानीको प्राकृतिक बहाब छेकियो, मुखियाले भने, ‘जसको कारण यतिबेला गाउँमा ठूलो क्षति भएको छ ।’

यस विषयमा अध्यक्ष महतोलाई पटकपटक जानकारी गराउँदा पनि बेवास्ता भएको उनले बताए। ‘नदीको प्राकृतिक बहाब रोकिने गरी बाढीको निकास बिनै सडक र पोखरी निर्माण गर्नु हुँदैन भनेर हामीले गत वर्ष नै अध्यक्षको ध्यानाकर्षण गराएका थियौँ, तर सुनुवाइ भएन,’ मुखियाले भने, ‘यस वर्ष बाढीले झन् ठूलो क्षति गर्यो ।’

बाढी नियन्त्रणको माग गर्दै केही दिनअघि मात्रै स्थानीयले अध्यक्ष महतोलाई ज्ञापनपत्र बुझाएका छन् । तर, त्यसको पनि कुनै सुनुवाइ नभएको उनीहरुको आरोप छ ।

गत वर्ष चन्द्रनगर गाउँपालिकाले मोहनपुरको पोखरिया हुँदै नाडीताल, किसनपुर डाँडाटोल हुँदै नाडीताल र बबरगञ्ज बरकुवा हुँदै नाडीताल जाने तीनवटा सडक निर्माण गरेको थियो । पानीको निकास छेकेर निर्माण गरिएका ती सडकको कारण वर्षातको बेला गाउँमा बाढी पस्न थालेको हो ।

सडक र पोखरीको बाँधले चन्द्रनगर ४ मा स्थानीय खोला खहरेको पानी थुनिन थालेको छ । जुन पानी चोरवा र कसही हुँदै मोरवा खोलामा झरेको छ । जसको कारण चन्द्रनगर ६ को कामत, लोड्वासहितका गाउँमा क्षति पुगेको स्थानीयले बताएका छन् ।अध्यक्ष महतोले ऐलानी पर्ती जमिनमा पोखरी खन्ने नाममा गाउँपालिकाको एक करोड १२ लाख रुपैयाँ सकेको आरोपसमेत स्थानीयको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.