हुलाकी न्यूज, जनकपुरधाम :सप्तरीमा दुई साताअघि खडक नगरपालिकामा कुटपिटबाट एकजनाको मृत्यु भएको घट्नामा संलग्नमा प्रहरीले पाँचजनालाई पक्राउ गरेका छन् ।
गत जेठ २४ गते खडक नगरपालिका ९ लालपट्टीमा राति वैदेशिक रोजगारीको बिषयमा भएको विवादका क्रममा कुटपिट गरिँदा स्थानीय मो.दाउदको मृत्यु भएको थियो । ७० बर्षीय दाउदको मृत्युपछि फरार भएका कुटपिटमा संलग्न भएका पाँच जनालाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले बताउनुभएको छ ।
पक्राउ पर्नेमा खडक नगरपालिका ९ बस्ने ३२ वर्षीय नजबुल मियाँ, ५५ बर्षीय वालिस भनिने कालिस मियाँ, ६० बर्षीय रफु भनिने रफुवा मियाँ, ४२ बर्षीय इजराइल मियाँ र ३२ बर्षीय जाकिर मियाँ रहेका छन् ।पाँचजनालाई बोदे बर्साइन नगरपालिका ९ स्थित नेपाल भारत सीमा क्षेत्रमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको काफ्लेले जानकारी दिएका हुन् भने पक्राउमा परेकाहरु माथि थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएका हुन् ।



