हुलाकी न्यूज, जनकपुरधाम : मेरो सेयर सफ्टवेरमा ‘माइ होल्डिङ’ नामक नयाँ फिचर थपिएको छ । सेयर बिक्री गर्दा उल्लेख गरिने सेयरको बिक्री स्रोत (माइ पर्चेज सोर्स)सँगै नयाँ फिचर ‘माइ होल्डिङ’ थप गरिएको छ।
नयाँ आर्थिक वर्षसँगै दोस्रो बजारमा हुने सेयर खरिद बिक्रीको करमा भएको दुई थरी प्रावधानलाई सहजीकरण गर्न यस्तो फिचर थपिएको केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) ले जनाएका छन्।
सेयर लगानीकर्ताले कुन सेयर कति समय होल्ड गरेर बिक्री गरेको हो भन्ने विवरण यकिन गरी पुँजीगत लाभकर गणना गर्न यस्तो सुबिधा थप गरिएको सीडीएससीका सूचना अधिकारी सुरेश न्यौपानेले जानकारी दिएका हुन् । आइतबार बेलुकी ७ बजेबाट प्रयोगमा आएको उक्त फिचर सोमबारबाटै प्रयोगमा आइसकेको छ ।
नयाँ आर्थिक वर्ष सुरु भएपछि एकवर्ष भन्दा धेरै समय होल्ड गरेर बिक्री गर्ने लगनीकर्तालाई पाँच प्रतिशत र सो भन्दा कम अवधिमा सेयर बिक्री गर्ने लगानीकर्तालाई ७.५ प्रतिशत पुँजीगत लाभकरको व्यवस्था गरिएको थियो ।
नयाँ फिचरबाट लगानीकर्ताले आफूले बेचेको सेयर कति सिमय होल्डभएर बिक्री गरियो र त्यसमा कति पूँजीगत लाभकर लाग्ने भो भन्ने थाहा हुने सूचना अधिकारी न्यौपानेले बताए ।
कसरी प्रयोग गर्ने ‘माइ होल्डिङ’ ……..?
लगानीकर्ताले सेयर बिक्री गरेको एक कार्य दिनभित्र मेरो सेयर सफ्टवेरमा रहेको ‘माइ ईडीआईएस’ अप्सन क्लिक गरेपछि उक्त पोर्टलभित्र रहेको सेयर ट्रान्स्फर ट्याबमा क्लिक गर्नुपर्छ ।
उक्त ट्याबमा लगानीकर्ताले बिक्री गरेको सेयरको लागतको भारित औसत गणना गर्न बाँकी छ भने उक्त सेयरहरुको लागत भारित गणना गर्न बाँकी रहेको देखाउँछ ।
त्यसपछि त्यहाँ माइ होल्डिङ भन्ने नयाँ फिचर थपिएको छ । पर्चेज सोर्समा आफूले बेचेको सेयर सर्च गर्ने र त्यसलाई माइ होलि्डङमा लैजानपर्छ । माइ होल्डिङमा सेयर जानेबित्तिकै इडीआईएसभित्र गएर सेयर हस्तान्तरण गर्न सकिन्छ ।



