हुलाकी न्यूज, जनकपुरधाम : सर्लाहीको हरिवन नगरपालिका वडा नं. १ भोक्टेनी बस्ने रीता ठाकुरको पाँच वर्षीय छोरा शिवम् ठाकुरको करेत सर्पको डसाईबाट मृत्यु भएको छ ।
आमासँगै सुतेका बालकलाई राती १ बजेतिर ओछ्यानमै सर्पले डसेको स्थानीय वासिन्दाले बताएका छन् ।
बालकलाई सर्पले डस्नासाथ उपचारका लागि लालबन्दी नगरपालिका–१, स्थित नवलपुर सर्पदंश उपचार केन्द्र ल्याइएको थियो भने यहाँ १० भाइल एन्टिभेनम चलाउँदा समेत बालकको अवस्था जटिल बन्दै गएपछि चिकित्सकले जनकपुर रेफर गरेका थिए ।
थप उपचारका लागि जनकपुरतर्फ लाने क्रममा उनको बाटोमा नै मृत्यु भएको हो । चिकित्सकको लापरवाहीले बालकको मृत्यु भएको भन्दै मृतकका आफन्त र गाउँलेहरु बिहिवार बिहान सर्पदंश उपचार केन्द्रमा जम्मा भएका थिए ।
उनीहरुलाई हरिवन र लालबन्दीका जनप्रतिनिधि, सुरक्षा अधिकारीलगायतको उपस्थितिमा सम्झाईबुझाई गरी बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा पठाइएको छ।



