हुलाकी न्यूज,जनकपुरधाम : उपचार खर्च तिर्न नसक्दा सुत्केरी महिला अस्पतालमा बन्धक भएको घटना सञ्चारमाध्यम मार्फत सार्वजनिक भएपछि सुत्केरी बन्धक मुक्त भएकी छिन् ।
धनुषाकी क्षीरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर कुचाई टोलकी ३० वर्षीया बेगम खातुन ४ दिनदेखि अस्पतालको उपचार खर्च तिर्न नसक्दा बन्धक बनेकी थिइन्। व्यथा लागेपछि गएको असार १७ गते खातुनलाई अस्पताल भर्ना गरिएको थियो। शल्यक्रिया गरी एक छोरा र एक छोरी (जुम्ल्याहा बच्चा) जन्म दिएकी बेगमलाई असार २१ गते नै अस्पतालले डिस्चार्जको कागज थमाएको थियोभने तर अस्पताललाई १ लाख १० हजार रुपैयाँ उपचार खर्च बुझाउन ४ दिनदेखि बन्धक बनेकी थिइन्।
ज्याला मजदुरीगर्दै आएका उनका श्रीमान् ३१ वर्षीय मोहम्मद समीर नदाफले श्रीमती र नवजात शिशुहरूलाई घर ल्याउन तिर्नुपर्ने अस्पतालको खर्च जुटाउन सकेका थिएनन् भने ४/५ दिनदेखि गाउँमा चन्दा संकलन गर्दै थिए।
एनआइसियुमा राखेर नवजात शिशुको उपचार गर्नुपरेको थियो। २ दिनपछि अस्पताल प्रशासनले उनलाई जनरल वार्डमा राखेर घर जानबाट बञ्चित गरेको थियो। बेगमकी ३१ वर्षीय श्रीमान् समीरले आफन्त र गाउँमा अस्पताललाई तिर्नुपर्ने पैसा खोजिरहेका थिए। तर पूरा रकम व्यवस्था गर्न सकेका थिएनन्।
यसमा सिरहाका प्रजिअ प्रदीपराज कंडेलको बिशेष सक्रियता रहेको थियो।
समीरले अस्पताललाई तिर्नुपर्ने पछिको ६० हजार आफूहरूलाई तिर्नु नपरेको केवल औषधि पसलको १० हजार तिरेको र अहिले एम्बुलेन्समा श्रीमती र बच्चा लिएर आएको १ हजार मात्र तिर्नुपरेको बताएका हुन्।
उपचार खर्च तिरेर आफ्नी श्रीमती र नवजात शिशुहरू घर ल्याउन भनी उनले चार/पाँच दिनदेखि गाउँमा चन्दा संकलन गरिरहेका थिए। उता अस्पताललाई तिर्नुपर्ने बिल बढेको बढ्यै थियो। यता बेगमको श्रीमान समीर भने पैसाको खोजीमा गाउँमा भौँतारिरहेका थिए।शल्यक्रिया र औषधिका लागि ऋण खोजेर उनले करिब करिब ५० हजार रुपैयाँ उपचारमा लगाएका थिए। घर आइसकेपछि समीरले भने, ‘बच्चा र आमाको स्वास्थ्य अवस्था ठीक छ। अब आमा र बच्चाको हेरविचार गर्नेछौ।’