हुलाकी न्यूज,जनकपुरधाम : कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सिरहामा जारी निषेधाज्ञा १५ दिनका लागि थप भएको छ । जिल्लास्थित कोभिड संकट व्यवस्थापन केन्द्रले जोखिम अझ कायमै रहेकोले निषेधाज्ञा फेरि लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि जारी १५ असारसम्मको निषेधाज्ञा अवधि सकिन लाग्दा फेरि १५ असार राति १२ बजेदेखि ३१ असार राति १२ बजेसम्म लागू हुनेगरी निषेधाज्ञा लम्ब्याइएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ ।

निषेधाज्ञा अवधिभर स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, खानेपानीलगायत अत्यावश्यक क्षेत्रका सवारी साधन सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए ।

निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, ब्युटीपार्लर, सैलुन, शैक्षिक संस्था, ट्युसन सेन्टरलगायतका सेवा भने बन्द रहने छन् । यस्तै खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी, ग्यास पसल बिहान ५ बजेदेखि दिउँसो १ बजेसम्म खोल्न पाइने छ ।

होटल व्यवसाय भने अनलाइन वा फोनबाट बुकिङ गरी होम डेलिभरी गर्न पाइने छ । त्यसका लागि बिहान ९ बजदेखि दिउँसो १ बजेसम्म र बेलुका ६ बजेदेखि ८ बजेसम्मको समय तोकिएको छ ।

सिरहामा कोभिडको दोस्रो लहरमा हालसम्म १ हजार ५ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ भने १ सय २ जनाको मृत्यु भएको छ । १ हजार ३ सय ५४ जना संक्रमित निको भएका छन् । सिरहामा हाल संक्रिय संक्रमितको संख्या ८९ मा झरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.